काठमाडौं, न्याय क्षेत्रमा मंगलबार एकै दिन उच्च अदालतका न्यायाधीश, सर्वोच्च अदालतका रजिष्ट्रार तथा न्याय परिषद्का सचिव नियुक्तिका लागि सिफारिस गरिएको छ।
प्रधानन्यायाधीश डा. मनोज शर्माको अध्यक्षतामा मंगलबार (भदौ ३०) बसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला न्यायाधीश हिमलाल बेलबासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
यससँगै सर्वोच्च अदालतको रजिष्ट्रार पदमा दुई सहरजिष्ट्रारलाई बढुवाका लागि सिफारिस गरिएको छ। मंगलबार बसेको न्याय सेवा आयोगको बैठकले सहरजिष्ट्रारद्वय ठगिन्द्र कट्टेल र बाबुराम दाहाललाई रजिष्ट्रार पदमा सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै, न्याय परिषद् सचिवालयको नेतृत्वमा समेत परिवर्तन हुने भएको छ। न्याय सेवा आयोगको बैठकले परिषद् सचिवालयका कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई न्याय परिषद् सचिवका लागि सिफारिस गरेको छ।
झापामा २०२९ वैशाख १७ गते जन्मिएका भट्टराईले २०५६ भदौ ७ गते न्याय सेवाको अधिकृत पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए। उपरजिस्ट्रार हुँदै उनी २०७४ जेठ १९ गते सहरजिस्ट्रार बनेका थिए।
परिषद्का तत्कालीन सचिव जितेन्द्रबाबु थपलिया गत वैशाखमा उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि भट्टराईले कायममुकायम सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। अब उनलाई परिषद् सचिवका रूपमा सिफारिस गरिएको हो।
मंगलबारका यी निर्णयसँगै न्याय परिषद् र सर्वोच्च अदालतको प्रशासनिक नेतृत्वमा समेत फेरबदलको प्रक्रिया अघि बढेको छ भने उच्च अदालतमा तीन जना न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया