logo

२०८३ भाद्र २३ मंगलवार

logo
  • २०८३ भाद्र २३ मंगलवार
  • जापानमा नेपाली युवती हत्या प्रकरणमा तीन नेपाली पक्राउ

    721Shares
    जापानमा नेपाली युवती हत्या प्रकरणमा तीन नेपाली पक्राउ

    काठमाडौं, जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्। जापान प्रहरीले हत्या अभियोगमा २८ वर्षीय सन्जु तामाङ, २५ वर्षीय अमिस्ता तामाङ र २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार पक्राउ परेका सन्जु फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत छन्। अमिस्ता र प्रबिन भने सागा प्रिफेक्चरको तोसु सहरमा बस्दै आएका थिए।

    झापाको चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत १९ अगस्टमा फुकुओकाको एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोमा प्रहार गर्नुका साथै घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने प्रहरीको आशंका छ।

    पक्राउ परेका तीनै जनाले घटनाबारे आरोप स्वीकार गरेको वा अस्वीकार गरेको विषय भने जापान प्रहरीले सार्वजनिक गरेको छैन।

    अनुसन्धानका क्रममा मृतक राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु तामाङ एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनाको पृष्ठभूमिमा प्रेमसम्बन्धसँग जोडिएको विवाद हुनसक्ने आशंका गरेको छ। सोही आधारमा राजवंशीको हत्या हुनुअघिको घटनाक्रम, पक्राउ परेका व्यक्तिहरूबीचको सम्बन्ध र घटनामा उनीहरूको संलग्नताबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

    घटनामा तीन नेपाली पक्राउ परेपछि जापानमा रहेका नेपाली समुदायमा समेत चासो बढेको छ। प्रहरीले अनुसन्धान पूरा भएपछि घटनाको थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट