खोटाङ। खोटाङको दक्षिणी क्षेत्रका बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ बीच पर्ने सुनकोशी नदीको बङ्शिलाघाटमा जडान गरिएको अस्थायी बेलिब्रिज शनिबारदेखि सञ्चालनमा आएको छ।गुरुकुल बिल्डर्स एन्ड सप्लायर्सले निर्माण गरेको ५१.८१ मिटर लामो बेलिब्रिज आगामी २०८३ साल जेठको पहिलो सातासम्म सञ्चालनमा रहने सहमति भएको छ। कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको ५७ लाख रुपैयाँ लगानीमा बेलिब्रिज जडान गरिएको हो।
बेलिब्रिजका लागि आवश्यक सामग्री प्रदेश सरकारले १ करोड ८७ लाख रुपैयाँ खर्चेर खरिद गरी पूर्वाधार विकास कार्यालयमार्फत निर्माण कम्पनीलाई उपलब्ध गराइएको कार्यालय प्रमुख विनम दाहालले जानकारी दिए।
लामो समयदेखि झोलुङ्गे पुलमार्फत आवतजावत गर्न बाध्य स्थानीय बासिन्दा ढिलै भए पनि बेलिब्रिज सञ्चालनमा आएपछि खुसी भएका छन्। बङ्शिलाघाटमा मोटरेबल पक्की पुलसमेत निर्माणाधीन छ।
खोटाङका बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका तथा उदयपुरको चौदण्डीगढी नगरपालिकाका जनप्रतिनिधिले अस्थायी बेलिब्रिजका लागि संघीय सरकारसँग बजेट माग गरेका थिए। तर बजेट नआएपछि प्रदेश सरकारको लगानीमा बेलिब्रिज जडान गरिएको बराहपोखरी गाउँपालिका अध्यक्ष सालिकराम बञ्जराले बताए।
यसैबीच, दक्षिणी क्षेत्रका तीन स्थानीय तहलाई पूर्वी तराईसँग सिधा जोड्ने उद्देश्यले सुनकोशीको धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले पछिल्लो समय गति लिएको छ। लामो समय ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको उक्त पुल निर्माणले पुनः तीव्रता पाएपछि स्थानीयमा आशा जागेको छ।
सडक विभाग पुल सेक्टर धरानका इन्जिनियर नवीन साहका अनुसार धाप्लाङघाट पुलको निर्माण कार्य ४३ प्रतिशत सम्पन्न भइसकेको छ। सुरुमा वेल फाउन्डेसन प्रविधिबाट काम थालिए पनि सम्भव नभएपछि डिजाइन परिवर्तन गरी पाइल फाउन्डेसन प्रविधिबाट निर्माण भइरहेको छ। हाल स्ल्याब ढलानका लागि पानी सुकाउने काम भइरहेको छ।
संघीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लगानीमा २०० मिटर लामो उक्त पुल निर्माणका लागि २०७३ साल असार ३० गते सम्झौता भएको थियो। पछिल्लो म्यादअनुसार २०८४ साल जेठ १९ गतेभित्र पुल निर्माण सम्पन्न गर्नुपर्नेछ। निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालिका अनुसार २०८३ चैतभित्र सवारी आवागमन सुरु गर्ने लक्ष्य राखिएको छ।
यसअघि सुनकोशीकै फोक्सिङटारमा पनि अस्थायी बेलिब्रिज सञ्चालनमा ल्याइएको थियो। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने मोटरेबल पुल गत वर्षको भीषण बाढीले बगाएपछि बेलिब्रिज जडान गरिएको हो।
फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएपछि घुर्मी–कटारी हुँदै लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए। उक्त बेलिब्रिज ९६ लाख ७७ हजार ९ सय ३७ रुपैयाँ लागतमा एमएएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले निर्माण गरेको हो।
गत वर्ष असोज १२ गतेको अविरल वर्षाका कारण सुनकोशीमा आएको बाढीले १२० मिटर लामो फोक्सिङटारको मोटरेबल पुल बगाउँदा दिक्तेल–गाईघाट सिधा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। त्यसपछि पुस महिनामा जडान गरिएको बेलिब्रिज वर्षायाम सुरु भएसँगै हटाइएपछि यात्रुहरू झोलुङ्गे पुल प्रयोग गर्न बाध्य थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया