logo

२०८३ कार्तिक २१ शुक्रबार

logo
  • २०८३ कार्तिक २१ शुक्रबार
  • बन्द गर्ने तयारीकै बीच गिनीको फोहोर केन्द्रमा पहिरो, ३० जनाको मृत्यु

    934Shares
    बन्द गर्ने तयारीकै बीच गिनीको फोहोर केन्द्रमा पहिरो, ३० जनाको मृत्यु

    काठमाडौं,  गिनीको राजधानी कोनाक्रीमा रहेको जोखिमपूर्ण फोहोर व्यवस्थापन केन्द्र बन्द गर्ने तयारी भइरहेकै बेला फोहोरको विशाल थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ । भारी वर्षापछि दार–एस–सलामस्थित फोहोरको पहाड भत्किँदा आसपासका टहरा तथा घरहरू पुरिएका हुन् ।

    घटना आइतबार बिहान करिब २ बजे भएको हो । फोहोरको थुप्रोमा पानी पसेपछि पहिरो जाँदा त्यसको चपेटामा आसपासका बस्ती परेका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने अन्य १६ जना सामान्य घाइते भएको सरकारी विवरण उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    घटनाको सबैभन्दा गम्भीर पक्ष के छ भने उक्त फोहोर केन्द्रलाई असुरक्षित भन्दै सरकारले केही दिनअघि नै बन्द गर्ने निर्णय गरेको थियो । वर्षायाममा पहिरोको जोखिम बढेको भन्दै त्यहाँबाट फोहोर अन्यत्र सार्ने र आसपासका बासिन्दालाई हटाउने तयारी गरिएको थियो । तर, बन्द गर्नुअघि नै ठूलो दुर्घटना भएको हो ।

    स्थानीय बासिन्दालाई यसअघि नै हट्न सूचना दिइएको भए पनि धेरै मानिस त्यही क्षेत्रमा बसिरहेका थिए । फोहोरको थुप्रो खस्दा केही घर तथा टहरा पुरिएपछि भग्नावशेषभित्र अझै मानिसहरू फसेको आशंकामा उद्धार टोलीले खोजी जारी राखेको छ । एक्स्काभेटर प्रयोग गरेर फोहोर हटाउने काम भइरहेको छ ।

    घटनास्थल पुगेका प्रधानमन्त्री अमाडोउ उरी बाहले उद्धार तथा राहत कार्यको निरीक्षण गरेका छन् । सरकारले घाइतेको उपचार र प्रभावित परिवारलाई सहयोग उपलब्ध गराउने जनाएको छ ।

    यसअघि स्थानीय क्षेत्र प्रमुख लान्सिने सिलाले १८ वटा शव निकालिएको जानकारी दिएका थिए । उद्धार कार्य अघि बढ्दै जाँदा सरकारले मृतकको संख्या ३० पुगेको पुष्टि गरेको हो । अझै केही मानिस पुरिएको हुन सक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूको आशंका छ ।

    घटनाले गिनीमा फोहोर व्यवस्थापन र जोखिमयुक्त बस्तीको सुरक्षामाथि समेत प्रश्न उठाएको छ । प्राकृतिक स्रोतमा धनी भए पनि कमजोर पूर्वाधार र गरिबीका कारण जोखिमपूर्ण क्षेत्रमा मानिसको बसोबास रहेको भन्दै यस घटनाले दीर्घकालीन सहरी व्यवस्थापनको चुनौतीलाई उजागर गरेको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट