logo

२०८३ श्रावण १७ आईतवार

logo
  • २०८३ श्रावण १७ आईतवार
  • निर्मल पुर्जाको निधनप्रति विद्वान् गुरुङको श्रद्धाञ्जली : ‘देशले अद्वितीय कीर्तिमानी नक्षत्र गुमायो’

    853Shares
    निर्मल पुर्जाको निधनप्रति विद्वान् गुरुङको श्रद्धाञ्जली : ‘देशले अद्वितीय कीर्तिमानी नक्षत्र गुमायो’

    काठमाडौं । विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधनप्रति नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका निवर्तमान अध्यक्ष विद्वान् गुरुङले गहिरो दुःख व्यक्त गरेका छन्।

    सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै गुरुङले पुर्जाको भौतिक शरीर हामीबीच नरहे पनि उनले नेपालको नाम विश्वभर चिनाएको गौरवपूर्ण इतिहास सधैं अमर रहने बताएका छन्।

    ‘हिमालको काखले प्यारो बनाएर तपाईंको भौतिक शरीर हामी माझबाट टाढा बनाए पनि, तपाईंले यो मुलुकको नाम विश्वमा चिनाउनुभएको अमर गाथा इतिहासको पानामा स्वर्णिम अक्षरले लेखिनेछ,’ गुरुङले लेखेका छन्।

    उनले सगरमाथासहित विश्वका अग्ला चुचुराहरूमा नेपालको झण्डा फहराउँदै देशको शिर उच्च बनाउने पुर्जाको असामयिक निधनले राष्ट्रले एक अद्वितीय कीर्तिमानी नक्षत्र गुमाएको उल्लेख गरेका छन्।

    गुरुङले कठिन परिस्थितिमा पनि हार नमान्ने पुर्जाको संघर्ष, साहस र दृढ संकल्प भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्दै देशप्रतिको उनको योगदान कहिल्यै नबिर्सिने बताएका छन्। साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

    निर्मल पुर्जा पाकिस्तानको काराकोरम पर्वत शृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा बिहीबार गएको भीषण हिमपहिरोमा परेका थिए। उनी संसारका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल कुनै पनि पूरक अक्सिजनबिना दुई–दुई पटक आरोहण गर्ने ऐतिहासिक अभियानमा रहेका बेला उक्त दुर्घटना भएको थियो।

    ‘केही कुरा असम्भव छैन’ भन्ने जीवनदर्शनका साथ विश्व पर्वतारोहणमा नेपाललाई नयाँ उचाइमा पुर्‍याएका पुर्जाको निधनसँगै नेपालले एक साहसी आरोही मात्र होइन, विश्व मञ्चमा नेपाली साहसको पहिचान स्थापित गर्ने प्रेरणादायी व्यक्तित्व पनि गुमाएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण १६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट