logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • पूर्वमन्त्री फत्तेह सिंह थारुको निधनप्रति राप्रपाद्वारा श्रद्धाञ्जली

    790Shares
    पूर्वमन्त्री फत्तेह सिंह थारुको निधनप्रति राप्रपाद्वारा श्रद्धाञ्जली

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वमन्त्री तथा पार्टीका वरिष्ठ नेता फत्तेह सिंह थारुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी शोक वक्तव्यमा थारुको निधनले राष्ट्रवादी राजनीतिक आन्दोलनले एक अनुभवी तथा समर्पित नेता गुमाएको उल्लेख गरिएको छ।

    राप्रपाले नेपालगञ्ज निवासी थारुलाई राष्ट्रवादी, अग्रज राजनीतिज्ञ तथा सामाजिक व्यक्तित्वका रूपमा स्मरण गर्दै पार्टी निर्माण र राष्ट्रहितका पक्षमा उहाँले पुर्‍याएको योगदान सदैव सम्मानपूर्वक स्मरण गरिरहने जनाएको छ। वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै उहाँका सुपुत्र तथा राप्रपा युवा नेता तारक सिंह थारुलगायत सम्पूर्ण परिवारजनप्रति पार्टीले गहिरो समवेदना प्रकट गरेको छ।

    फत्तेह सिंह थारु नेपालको राष्ट्रवादी राजनीतिक धारमा लामो समय सक्रिय रहेका नेतामध्ये एक मानिनुहुन्थ्यो। मन्त्रीका रूपमा जिम्मेवारी निर्वाह गर्नुका साथै उहाँले राष्ट्रिय मुद्दा, राजनीतिक स्थायित्व र लोकतान्त्रिक अभ्यासका विषयमा निरन्तर आफ्नो धारणा राख्दै आउनुभएको थियो। सार्वजनिक जीवनमा उहाँको सरल स्वभाव, स्पष्ट राजनीतिक दृष्टिकोण र संगठनप्रतिको प्रतिबद्धताका कारण विभिन्न राजनीतिक वृत्तमा उहाँ सम्मानित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।

    राप्रपाले जारी गरेको शोक वक्तव्यमा थारुको राजनीतिक अनुभव, सामाजिक योगदान र राष्ट्रप्रतिको समर्पण भाव आगामी पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गरेको छ। पार्टीले उहाँले देखाएको राष्ट्रप्रेम, संगठनप्रतिको निष्ठा र सार्वजनिक सेवाको भावनालाई निरन्तर आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ।

    पूर्वमन्त्री थारुको निधनप्रति विभिन्न राजनीतिक व्यक्तित्व, शुभेच्छुक तथा सामाजिक क्षेत्रबाट पनि श्रद्धाञ्जली व्यक्त भइरहेका छन्। उहाँले सार्वजनिक जीवनमा पुर्‍याएको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै धेरैले नेपाली राजनीतिक क्षेत्रले एक अनुभवी तथा राष्ट्रप्रति समर्पित व्यक्तित्व गुमाएको बताएका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट