logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • समिर राईको शिक्षा अभियानको प्रतिफल, गौरीपञ्च माविले पहिलो एसईईमै ७७ प्रतिशत सफलता

    856Shares
    समिर राईको शिक्षा अभियानको प्रतिफल, गौरीपञ्च माविले पहिलो एसईईमै ७७ प्रतिशत सफलता

         खोटाङ । केपिलासगढी गाउँपालिकाको विशेष पहल र अध्यक्ष समिर राईको नेतृत्वमा वडा नं. १ फेदी, सुम्देस्थित गौरीपञ्च माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। दुर्गम क्षेत्रमा माध्यमिक तहको शिक्षा विस्तार गर्ने उद्देश्यले स्थापित विद्यालयले यस वर्ष पहिलो पटक सहभागी भएको एसईई परीक्षामा ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्साहजनक सफलता हासिल गरेको हो।

    एक समय माध्यमिक तहको अध्ययनका लागि विद्यार्थीहरूले दैनिक तीन घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको यस क्षेत्रमा अहिले आफ्नै गाउँमा गुणस्तरीय माध्यमिक शिक्षा उपलब्ध भएको छ। स्थानीय समुदायको दशकौँदेखिको सपना गाउँपालिकाको पहलमा साकार बनेपछि विद्यार्थी र अभिभावक दुवै लाभान्वित भएका छन्।

    गाउँपालिका अध्यक्ष समिर राईले विद्यालयको उपलब्धि सम्पूर्ण समुदायको साझा सफलता भएको उल्लेख गर्दै विद्यालय स्थापना तथा माध्यमिक तह सञ्चालनका लागि योगदान पुर्‍याउने निवर्तमान जिल्ला समन्वय समिति सदस्य अडिराम राई, नेपाली कांग्रेसका नेता वीरकाजी राई, तत्कालीन विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन्।

    यस उपलब्धिको पछाडि वडा नं. १ का वडा अध्यक्ष निरकुमार राईको निरन्तर सक्रियता र मेहनत पनि महत्वपूर्ण रहेको स्थानीयहरू बताउँछन्। विद्यालयको भौतिक पूर्वाधार निर्माण, आवश्यक बजेट व्यवस्थापनका लागि पहल, गाउँपालिका तथा विभिन्न निकायसँग समन्वय, शैक्षिक वातावरण सुधार तथा विद्यालयका समस्या समाधानका लागि उनले निरन्तर खटिँदै आएको विद्यालय परिवारको भनाइ छ। विद्यालयलाई व्यवस्थित र गुणस्तरीय बनाउने अभियानमा वडा अध्यक्ष राईले समुदायसँग हातेमालो गर्दै खेलेको भूमिकाले विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पारेको स्थानीयको विश्वास छ।

    विद्यालयको भौतिक पूर्वाधार विकासमा पनि गाउँपालिकाले निरन्तर प्राथमिकता दिएको छ। गाउँपालिकाको समन्वय तथा साझेदारीमा जी फाउन्डेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोग र सृजनशील भरिया समाजमार्फत आठ कोठे पक्की भवन निर्माण गरिएको थियो। त्यसपछि पनि कक्षाकोठाको अभावलाई मध्यनजर गर्दै चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई कोठे भवन निर्माण गरेको अध्यक्ष राईले जानकारी दिए।

    उनले अझै केही पूर्वाधार तथा शैक्षिक स्रोतसाधनको अभाव रहे पनि त्यसलाई क्रमशः पूरा गर्दै विद्यालयलाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै प्रतिकूल परिस्थितिका बाबजुद शैक्षिक गुणस्तर सुधारमा निरन्तर खटिरहेका प्रधानाध्यापक, शिक्षक तथा विद्यालय परिवारको उनले खुलेर प्रशंसा गरेका छन्।

    गौरीपञ्च विद्यालयबाट अध्ययनको प्रारम्भ गरेका धेरै विद्यार्थी आज देशका विभिन्न सरकारी तथा गैरसरकारी निकायमा जिम्मेवार भूमिकामा पुगेका छन्। विद्यालयका पूर्वविद्यार्थीमध्ये युनिक साम्पाङ हाल आफ्नै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा कार्यरत रहनु यस विद्यालयको अर्को गौरवपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

    शिक्षालाई विकासको मुख्य आधार मानेर अघि बढेको केपिलासगढी गाउँपालिकाले आगामी दिनमा पनि विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा आवश्यक स्रोतसाधनमा लगानीलाई निरन्तरता दिने जनाएको छ। स्थानीयवासीका अनुसार गाउँपालिकाको सक्रिय पहल, विद्यालय परिवारको समर्पण र समुदायको सहकार्यका कारण दुर्गम बस्तीका विद्यार्थीले आफ्नै गाउँमा गुणस्तरीय माध्यमिक शिक्षा प्राप्त गर्ने अवसर पाएका छन्, जसले समग्र शैक्षिक विकासमा नयाँ आशा जगाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ३२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट