न्युयोर्क । मोरक्कोविरुद्ध गोल गर्दै फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बापेले विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन् । २७ वर्षको उमेरमा केवल २० खेलमै यो उपलब्धि हासिल गर्दै उनी विश्वकपमा २० गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
यसअघि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३८ वर्षको उमेरमा विश्वकपमा २० गोल पूरा गरेका थिए । सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा एम्बापे अहिले मेसीभन्दा केवल एक गोलले पछाडि छन् ।
यस विश्वकपमा गोल्डेन बुटको प्रतिस्पर्धा पनि निकै रोचक बनेको छ। मेसी र एम्बापे दुवैले समान आठ–आठ गोल गरे पनि बढी एसिस्टका आधारमा एम्बापे अग्रस्थानमा रहेका छन्।
एम्बापेले यस संस्करणमा अर्को ऐतिहासिक उपलब्धिसमेत आफ्नो नाममा लेखाएका छन् । उनी विश्वकपका दुई फरक संस्करणमा आठ वा सोभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका छन्। अघिल्लो विश्वकपमा पनि आठ गोल गर्दै उनले गोल्डेन बुट जिेतका थिए । त्यही प्रतियोगिताको फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उहाँले विशेष कीर्तिमान कायम गरेका थिए।
त्यसैगरी, दुई फरक विश्वकप संस्करणमा दोहोरो अङ्कमा गोल र एसिस्टको योगदान गर्ने पहिलो खेलाडी पनि एम्बापे नै बनेका छन् । अघिल्लो विश्वकपमा आठ गोल र दुई एसिस्ट गर्नुभएका उनले यसपटक आठ गोलसँगै तीन एसिस्ट गरिसकेका छन्।
विश्वकपको नकआउट चरणमा सर्वाधिक १२ गोल गर्ने कीर्तिमान पनि अहिले एम्बापेकै नाममा रहेको छ। यस सूचीमा ब्राजिलका लियोनिडास र रोनाल्डो समान आठ–आठ गोलसहित दोस्रो स्थानमा छन्।
फ्रान्सका लागि विश्वकपमा सर्वाधिक २० खेल खेल्ने ह्युगो लोरिसको कीर्तिमान पनि एम्बापेले बराबरी गरेका छन्। सेमिफाइनल खेलसँगै उनी फ्रान्सका लागि विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने फुटबलर बन्नेछन्।
एम्बापे फ्रान्सका सर्वाधिक गोलकर्ता पनि हुन्। उनले राष्ट्रिय टोलीका लागि १०४ खेलमा ६४ गोल गरिसको छन्। विश्वकप सुरु हुनुअघि उनी फ्रान्सका पूर्व स्ट्राइकर ओलिभर जिरुभन्दा पछाडि थिए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया