काठमाडौं । फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ (प्रि–क्वाटरफाइनल) को समीकरण पूरा भएको छ। नकआउट चरणको पहिलो चरण सकिँदा प्रतियोगितामा युरोपेली तथा अमेरिकी महादेशका टोलीहरूको स्पष्ट दबदबा देखिएको छ भने एसियाली राष्ट्रहरूको यात्रा समाप्त भएको छ।
अन्तिम १६ मा सबैभन्दा धेरै युरोपका सात टोली पुगेका छन्। युरोपबाट साविक उपविजेता फ्रान्स, पूर्वविश्वविजेता स्पेन र इंग्ल्यान्डसँगै बेल्जियम, पोर्चुगल, नर्वे र स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।
दक्षिण अमेरिकाबाट चार टोली अन्तिम १६ मा पुगेका छन्। साविक विश्वविजेता अर्जेन्टिनासँगै ब्राजिल, कोलम्बिया र पाराग्वेले नकआउट चरण पार गर्दै उपाधि दौडलाई निरन्तरता दिएका छन्। राउण्ड अफ ३२ मा पुगेका दक्षिण अमेरिकी टोलीमध्ये इक्वेडर मात्र अन्तिम १६ मा पुग्न असफल रह्यो।
उत्तर अमेरिकाले पनि उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना तीनै प्रतिनिधि टोलीलाई अन्तिम १६ मा पुर्याएको छ। आयोजक अमेरिका, मेक्सिको र क्यानडाले राउण्ड अफ ३२ मा जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन्।
यता अफ्रिकी टोलीहरूको प्रदर्शन मिश्रित रह्यो। राउण्ड अफ ३२ मा पुगेका नौ अफ्रिकी टोलीमध्ये सात टोली बाहिरिए भने मोरक्को र इजिप्ट मात्र अन्तिम १६ मा प्रवेश गर्न सफल भए।
यसपटक एसियाका लागि भने विश्वकप निराशाजनक बन्यो। राउण्ड अफ ३२ मा पुगेका जापान र एसियन कोटाबाट प्रतिस्पर्धा गरेको अस्ट्रेलिया दुवै टोली आफ्नो पहिलो नकआउट खेलमै पराजित भएपछि प्रतियोगितामा एसियाको प्रतिनिधित्व समाप्त भएको छ।
अब उपाधि यात्राको अर्को चरण अर्थात् अन्तिम १६ मा युरोपका ७, दक्षिण अमेरिकाका ४, उत्तर अमेरिकाका ३ र अफ्रिकाका २ टोलीबीच क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ।
अष्ट्रेलिया (Australia) भौगोलिक रूपमा एसियाली देश होइन। यो ओसिनिया (Oceania) महादेशमा पर्छ।
तर फुटबलमा भने अष्ट्रेलिया एसियाली फुटबल महासंघ (AFC) को सदस्य हो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया