काठमाडौं । दक्षिण कोरियाको श्रम बजारमा ई–७ भिसा मार्फत रोजगारीका लागि प्रतीक्षारत नेपाली सीपयुक्त श्रमिकका लागि सरकारले महत्त्वपूर्ण निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले सीपयुक्त श्रमिकलाई कानुनी प्रक्रियाअनुसार दक्षिण कोरिया पठाउने व्यवस्था अघि बढाउन परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गरेको हो।
मन्त्रालयले परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशन, कोरियाली दूतावासबाट आएको कूटनीतिक नोट तथा उच्च अदालत पाटनबाट जारी आदेशलाई आधार मानेर यो निर्णय गरेको जनाएको छ। मन्त्रीस्तरबाट असार १५ गते भएको निर्णयअनुसार प्रक्रिया अगाडि बढाइएको हो।
निर्णयअनुसार अबदेखि ई–७ भिसा अन्तर्गत दक्षिण कोरिया जाने नेपाली श्रमिकको सम्पूर्ण प्रक्रिया वैदेशिक रोजगार ऐन, २०६४ र अन्य प्रचलित कानुनअनुसार सञ्चालन गर्नुपर्नेछ। साथै, दक्षिण कोरियाबाट प्राप्त हुने मागपत्र सम्बन्धित देशस्थित नेपाली कूटनीतिक नियोगबाट प्रमाणीकरण गरी त्यसपछि मात्रै आवश्यक प्रक्रिया अघि बढाइनेछ।
यसका लागि श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरेको छ। साथै, वैदेशिक रोजगार विभाग, ताहाचल लाई आवश्यक व्यवस्थापन मिलाउन तथा प्रक्रियालाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ। सियोलस्थित नेपाली राजदूतावास लाई पनि यसबारे बोधार्थ पठाइएको मन्त्रालयले जनाएको छ।
लामो समयदेखि कानुनी तथा प्रक्रियागत अन्योलका कारण रोकिएको ई–७ भिसा मार्फत दक्षिण कोरिया जाने प्रक्रिया अब पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ। यस निर्णयले विशेष सीप भएका नेपाली श्रमिकका लागि दक्षिण कोरियामा रोजगारीका नयाँ अवसर खुल्ने विश्वास गरिएको छ।
ई–७ भिसा दक्षिण कोरियाले विशेष दक्षता तथा प्राविधिक सीप भएका विदेशी श्रमिकलाई उपलब्ध गराउने रोजगार भिसा हो। नेपालबाट पनि विभिन्न म्यानपावर कम्पनीमार्फत यस भिसामा श्रमिक पठाउने तयारी भइरहेका बेला सरकारको यो निर्णयलाई सकारात्मक रूपमा हेरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया