रानी। कोशी प्रदेश प्रहरीले सञ्चालन गरेको लागूऔषध विरुद्धको महाअभियानअन्तर्गत विभिन्न जिल्लाबाट २२ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट १८ ग्राम १५० मिलिग्राम ब्राउन सुगर, ५०२ चक्की प्रतिबन्धित औषधी, एक मोटरसाइकल, एक स्कुटर र एक सिटी सफारी बरामद गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाका अनुसार लागूऔषधमुक्त समाज निर्माण गर्ने उद्देश्यले प्रदेशभर परिचालित प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
झापामा वडा प्रहरी कार्यालय भद्रपुरले बिर्तामोड –६ का देबेन्द्र विकलाई १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । दमक –३ का विकास भुजेल र भद्रपुर–७ की सरिता राजवंशीलाई ६ ग्राम ९० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ । यस्तै, प्रहरी चौकी बिर्ताबजारले बिर्तामोड –३ का गणेशप्रसाद ओलीलाई ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । बिर्तामोड –४ का चाल्स लिम्बू र उमेश लिम्बूलाई ३ ग्राम ९०० मिलिग्राम गाँजासहित नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी धरमपुरले शिवसताक्षी नगरपालिका –२ का वीरगञ्ज आङदम्बेलाई स्पारेक्स्ट १०० ट्याब्लेट र ट्रामाडोल १०० ट्याब्लेटसहित पक्राउ गरेको जनाएको छ । सुनसरीमा कोशी प्रदेश प्रहरीको पीआइटी टोली तथा इलाका प्रहरी कार्यालय धरान, इटहरी र चतराले बराहक्षेत्र –१ का योगेश न्यौपानेलाई स्पास्मो २९० चक्की र कोरेक्स एक बोतलसहित पक्राउ गरेको छ ।
धरान–२० का विक्रम उदासलाई २ ग्राम २१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ । त्यस्तै इटहरी क्षेत्रबाट मोहन परियार, सुमन पासवान, दीपेश राना मगर तथा सक्षम केसीलाई २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीले धरान –१७ का प्रकाश राईलाई ६४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ । धरान रेल्वे क्षेत्रबाट बेवारिसे अवस्थामा ३२ किलोग्राम गाँजा बरामद गरेको छ । सप्तरीको कञ्चनरूप –९ का शिवनारायण महत्तोलाई नाइट्रोजन –१२ चक्की र प्रदीप यादवलाई १ ग्राम ६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी, कोशी प्रदेश प्रहरीको पीआइटी टोली र इलाका प्रहरी कार्यालय रानीले कटहरी –३ का कमल रामलाई ५९० मिलिग्राम, दुहबी–८ का सन्दीप कार्कीलाई ४६० मिलिग्राम तथा पथरीशनिश्चरे–८ का शंकर माझीलाई ७२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी कर्सियाले धनपालथान –४ का गोपाल सहनीलाई ८०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रवक्ता थापाले पक्राउ परेकाविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया