काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा विकराल बन्दै गएको बाँदर समस्याको दीर्घकालीन समाधानका विषयमा नगर प्रमुख तीर्थराज भट्टराईले उच्चस्तरीय सरकारी कार्यदलसँग छलफल गरेका छन्।
ललितपुरस्थित एनटीएनसी (नेसनल ट्रष्ट फर नेचर कन्जरभेसन) भवन मा सोमबार सम्पन्न छलफलमा नेपाल सरकारले हालै गठन गरेको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल का संयोजक होमबहादुर खत्री, विभिन्न मन्त्रालयका वरिष्ठ प्रशासक, त्रिभुवन विश्वविद्यालयका वन्यजन्तु विज्ञ तथा अन्य सदस्यहरू सहभागी थिए।
छलफलमा नगर प्रमुख भट्टराईले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा बाँदरका कारण किसानले भोग्दै आएका समस्या, कृषि उत्पादनमा परेको असर तथा स्थानीय तहले गर्दै आएका प्रयासबारे जानकारी गराएका थिए। उनले बाँदर नियन्त्रण र व्यवस्थापनका लागि वैज्ञानिक तथा दीर्घकालीन समाधान आवश्यक रहेको धारणा राखेका थिए।
नगर प्रमुख भट्टराईका अनुसार बाँदरका कारण कृषकहरू खेतीपाती छाड्न बाध्य हुने अवस्था सिर्जना भएको छ। यस समस्याको समाधानका लागि नगरपालिकाले विगतदेखि संघीय सरकारसँग निरन्तर पहल गर्दै आएको र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको पनि उनले बताए।
छलफलका क्रममा कार्यदलका सदस्यहरूले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहेको बाँदर समस्या राष्ट्रियस्तरमै गम्भीर रूपमा उठेको विषय भएको उल्लेख गर्दै समाधानका लागि आवश्यक अध्ययन, अनुसन्धान तथा पाइलोट कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए।
नगर प्रमुख भट्टराईले गत वर्ष बाँदर समस्याको समाधानको माग गर्दै आफूले गरेको आमरण अनसनपछि सरकारसँग भएको सहमति कार्यान्वयनतर्फ प्रक्रिया अगाडि बढिरहेको भन्दै नेपाल सरकार किसानको समस्याप्रति गम्भीर रहेको विश्वास व्यक्त गरे। उनले नगरपालिकाबाट पाइलोटिङ कार्यक्रम छिट्टै सुरु भई दीर्घकालीन समाधानको आधार तयार हुने अपेक्षा समेत व्यक्त गरे।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लामो समयदेखि बाँदर व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गर्दै आएको छ। पछिल्लो उच्चस्तरीय छलफलले समस्या समाधानको प्रक्रिया थप प्रभावकारी रूपमा अघि बढ्ने विश्वास स्थानीय किसानहरूले गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया