काठमाडौँ, जेठ २९ — देशभर सञ्चालनमा रहेका सामुदायिक विद्यालयमध्ये आधाभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम रहेको तथ्य सार्वजनिक भएको छ। विद्यार्थी अभावका कारण यस्ता विद्यालयलाई निरन्तर सञ्चालन गर्ने वा अन्य विद्यालयसँग गाभ्ने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आवश्यक छलफल अगाडि बढाएको छ।
सरकारी तथ्याङ्कअनुसार हाल देशभर २७ हजार १० वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्। तीमध्ये १३ हजार ७३६ विद्यालयमा विद्यार्थी संख्या सयभन्दा कम छ, जुन कुल सामुदायिक विद्यालयको ५०.८६ प्रतिशत हो। अर्कोतर्फ केही विद्यालयमा भने हजारौँ विद्यार्थी अध्ययनरत छन्, जसले विद्यार्थी वितरणमा ठूलो असमानता देखाएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने सामुदायिक विद्यालय रुपन्देहीको बुटवल उपमहानगरपालिकास्थित कालिका मानव ज्ञान माध्यमिक विद्यालय हो। उक्त विद्यालयमा हाल ८ हजार २३९ विद्यार्थी अध्ययनरत छन्। चार हजारभन्दा बढी विद्यार्थी भएका १० सामुदायिक विद्यालयमध्ये चार वटा रुपन्देहीमा रहेका छन् भने काठमाडौँमा दुई तथा धनुषा, कपिलवस्तु, भक्तपुर र मोरङमा एक–एक विद्यालय रहेका छन्।
तथ्याङ्कअनुसार १० हजार ८६ सामुदायिक विद्यालयमा १०० देखि ५०० सम्म विद्यार्थी अध्ययनरत छन्। यस्तै ५०१ देखि एक हजारसम्म विद्यार्थी भएका विद्यालयको संख्या एक हजार ६७० छ भने एक हजार एकदेखि एक हजार ५०० सम्म विद्यार्थी भएका विद्यालय ४६७ रहेका छन्।
विद्यालय व्यवस्थापन, नेतृत्व सुदृढीकरण, लगानी वृद्धि र शैक्षिक गुणस्तर सुधारका प्रयासका कारण पछिल्ला वर्षहरूमा केही सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दै गएको देखिएको छ।
विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयलाई स्थानीय आवश्यकता र नक्साङ्कनका आधारमा समायोजन गर्ने कार्य पनि जारी रहेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेका अनुसार हालसम्म ६५० भन्दा बढी विद्यालय समायोजन गरिसकिएको छ। आवश्यकता अनुसार केही विद्यालयमा कक्षा घटुवा समेत गरिएको उहाँले जानकारी दिनुभयो।
विद्यालय समायोजनपछि बढी हुने शिक्षकलाई शिक्षक अभाव भएका विद्यालयमा सरुवा गर्ने प्रक्रिया पनि सरकारले तीव्र बनाएको छ। साथै माथिल्लो तहमा शिक्षक दरबन्दी कम र तल्लो तहमा बढी रहेको अवस्थालाई सन्तुलन गर्न दरबन्दी स्तरोन्नतिको कामसमेत अघि बढाइएको छ। केन्द्रका अनुसार हालसम्म प्राथमिक तहका छ हजार दरबन्दीलाई स्तरोन्नति गरी निम्न माध्यमिक तहमा रूपान्तरण गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया