logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • रास्वपाको जिल्ला अधिवेशन आजदेखि: ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि

    850Shares
    रास्वपाको जिल्ला अधिवेशन आजदेखि: ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार आजदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज र भोलि गरी देशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ।

    आज कोशी प्रदेशका झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, सङ्खुवासभा, ओखलढुङ्गा र सुनसरीसहित ८ जिल्ला, मधेश प्रदेशका महोत्तरी र रौतहट, बागमती प्रदेशका काठमाडौं, भक्तपुर, काभ्रे, नुवाकोट, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक र सिन्धुली लगायत ८ जिल्ला, गण्डकी प्रदेशका कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दीमा अधिवेशन हुँदैछ।

    त्यस्तै लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशका कालिकोट र सल्यान तथा सुदूरपश्चिम प्रदेशका बैतडी, बझाङ र दार्चुलामा पनि आजै अधिवेशन आयोजना गरिएको छ।

    भोलि कोशी प्रदेशका उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाम, मधेश प्रदेशका सिराहा, धनुषा, पर्सा र सर्लाही, बागमती प्रदेशका चितवन र ललितपुर, गण्डकी प्रदेशका तनहुँ, नवलपुर, गोरखा र लमजुङमा अधिवेशन हुनेछ। त्यसैगरी लुम्बिनी प्रदेशका अर्घाखाँची, रुपन्देही र प्युठान, कर्णाली प्रदेशका सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरामा पनि भोलि अधिवेशन तय गरिएको छ।

    पार्टीका अनुसार संगठनात्मक विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गते आयोजना गरिनेछ। रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि नै ७७ मध्ये ६६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ। यससँगै पार्टीको मुख्य संगठन संरचना अधिकांश जिल्लामा पूर्ण हुने अपेक्षा गरिएको छ।

    बाँकी ११ जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि चरणबद्ध रूपमा सम्पन्न गरिने पार्टीले जनाएको छ।

    यसैबीच, जेठ २६ गतेदेखि सातै प्रदेशमा प्रदेश अधिवेशनको तयारी पनि भइरहेको महामन्त्री बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार पहिलो प्रदेश अधिवेशन बागमती प्रदेशबाट सुरु हुनेछ।

    रास्वपाले जिल्ला तथा प्रदेश तहको संगठनलाई मजबुत बनाउँदै राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट