खोटाङ ।
खोटाङको दिक्तेल बहुमुखी क्याम्पसले आगामी तीन वर्षका लागि पुनः दुर्गाजयन्ती राईको नेतृत्वमा नयाँ सञ्चालक समिति पाएको छ। क्याम्पसको आठौँ साधारणसभाले सर्वसम्मत रूपमा राईलाई अध्यक्षमा चयन गरेको हो।
नयाँ सञ्चालक समितिको उपाध्यक्षमा कुमारप्रसाद आचार्य चयन भएका छन् भने सदस्यहरूमा रामप्रसाद दङ्गाल, प्रकाशकुमार श्रेष्ठ, दिनेशकुमार घिमिरे, उमेश राई, शिवनारायण श्रेष्ठ, राजकुमार उदास र टीका खत्री रहेका छन्। नवनिर्वाचित समितिको पहिलो बैठकले रामबहादुर बजगाईँ, डिल्लीकुमारी आचार्य, दीपक ठटाल र सीताराम राईलाई मनोनित सदस्यका रूपमा थप गरेको छ। क्याम्पस प्रमुख कृष्णबहादुर राई सदस्य सचिवमा स्वतः नियुक्त भएका छन्।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले उद्घाटन गरेको साधारणसभाले नयाँ कार्यसमिति चयन गर्नुका साथै क्याम्पसको प्रगति र आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ। कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, प्रशासन, शैक्षिक संस्था तथा विद्यार्थी सङ्घ–सङ्गठनका प्रतिनिधिको उल्लेख्य उपस्थिति रहेको थियो।
दिक्तेल बजारमा सञ्चालित यो क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि स्नातकोत्तर तहसम्म अध्ययन सञ्चालन गर्दै आएको छ। खोटाङ मात्र होइन, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका विद्यार्थीका लागि समेत शैक्षिक गन्तव्य बनेको क्याम्पसमा हाल ९२१ जना विद्यार्थी अध्ययनरत छन्।
मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको अध्यापन हुँदै आएको क्याम्पसमा छात्रा आवासगृह, कम्प्युटर ल्याब, पुस्तकालय, खानेपानी लगायतका सुविधा उपलब्ध छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया