ढल्केबर, वैशाख २७ गते । धनुषाको मिथिला नगरपालिका–९, लालगढ नजिक पूर्वपश्चिम राजमार्गमा आइतबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस पल्टिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दुर्घटनामा परेको बसले सोही दिशाबाट अगाडि गइरहेको प्र १–०१–००१ ख ४२२४ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा पछाडिको भागमा ठोक्किएपछि अनियन्त्रित भएको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस सडकमा पल्टिएको बताउनुभयो ।
दुर्घटनामा परेको बसमा सवार ३३ जना यात्रुमध्ये चालकसहित १७ जना घाइते भएका छन् । घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले उहाँले जानकारी दिनुभयो । ठक्कर लागेको अर्को बसमा सामान्य क्षति पुगेको छ । दुर्घटनामा परेका दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार घाइतेमध्ये चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका–९ निवासी ४३ वर्षीय विष्णु घाइते हुनुभएको छ । भारतको आसाम निवासी ५० वर्षीय बिराज शेख र ३५ वर्षीय सतन शेखको टाउको तथा शरीरमा मध्यम चोट लागेको छ भने २८ वर्षीय अफताब अन्सारी सामान्य घाइते हुनुभएको छ ।
त्यस्तै सुनसरी हरिनगर–४ निवासी २० वर्षीय सुजन यादव, उदयपुर चन्दनगढी–६ निवासी ३२ वर्षीय अजय काफ्ले, काठमाडौँ महानगरपालिका–३२ निवासी २१ वर्षीया रिद्धि खड्की र २१ वर्षीया सरन खड्की पनि घाइते हुनुभएको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ निवासी ४२ वर्षीया ललिता भुजेल, सर्लाही लालबन्दी–१ निवासी ३८ वर्षीय दिजेन्द्र न्यौपाने, सहचालक मोरङ विराटनगर निवासी २८ वर्षीय मुकेश साह, तेह्रथुम थथर गाउँपालिका–४ निवासी २८ वर्षीया कविता भुजेल, सुनसरी धरान–१७ निवासी ३४ वर्षीया मेरी राई, झापा झिलझिले–८ निवासी २० वर्षीय न्युसन थापा, सुनसरी इनरुवा निवासी ३३ वर्षीय राजकुमार उराउ, सिरहा मिर्चैया–१ निवासी ४४ वर्षीय रतनदेव मण्डल तथा सुनसरी इनरुवा निवासी ३३ वर्षीया सन्तोषी उराउ घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया