logo

२०८३ बैशाख १७ बिहीबार

logo
  • २०८३ बैशाख १७ बिहीबार
  • त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

    718Shares
    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले दिए सामूहिक राजीनामा

    काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । सरकारले अध्यादेश ल्याएर हटाउने तयारी गरिरहँदा उनीहरूको सामूहिक राजीनामा आएको हो । सरकारलाई मार्गप्रशस्त गर्न राजीनामा दिएकाे रेक्टर प्रा. खड्ग केसीले सञ्चारमाध्यमलाई  जानकारी दिए ।

    नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरूले राजीनामा दिएका हुन् । उनीहरू नयाँ सरकार बनेपछि काम गर्ने वा राजीनामा दिने भन्ने विषयमा पहिलेदेखि नै छलफल गरिरहेको र सरकारले नै मार्गप्रशस्त गर्न अनुरोध पनि गरिसकेपछि सामूहिक राजिनामा दिने मनस्थितिमा पुगेको त्रिविका एक अधिकारीले बताए ।

    ‘यो माहौलमा कसरी काम गर्ने वा राजीनामा दिने भनेर पहिलेदेखि नै छलफलमा हुनुहुन्थ्यो,’ उनले भने, ‘छलफलपछि केही दिनअघि नै उहाँहरूले राजीनामा दिने मनस्थिति बनाउनुभएको हो ।’

    उपकुलपति प्रा. डा. दीपक अर्याल, रेक्टर प्रा. डा. खड्ग केसी र प्रा. डा. रजिस्ट्रार प्रा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् । प्रा.डा. केशरजंग बरालले उपकुलपतिबाट राजीनामा दिएपछि अर्याल २५ असार २०८२ मा उपकुलपति बनेका थिए । यो समयमा केपी शर्मा ओली प्रधानमन्त्री थिए ।

    शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई ३० चैत २०८० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए ।

    त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हुने भए पनि सरकारले अध्यादेश नै ल्याउन लागेपछि उनीहरूले राजीनामा दिएका हुन् ।सरकारले सिफारिस गरेको अध्यादेशमाथि राष्ट्रपति पौडेलले अध्ययन गरिरहेका छन् । यो अध्यादेश सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्ने उद्देश्यले ल्याइएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट