logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • ओली र लेखकलाई प्रहरीले भोलि बयानका लागि झिकाउँदै

    808Shares
    ओली र लेखकलाई प्रहरीले भोलि बयानका लागि झिकाउँदै

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले भोलि (बुधबार) बयानका लागि जिल्ला प्रहरी परिसरमा झिकाउने तयारी भएको छ । पहिलोपटक हिरासतमा राख्नका लागि जिल्ला अदालतले ५ दिनको म्याद दिएको थियो । उक्त म्याद पर्याप्त नहुने कारण पुनः म्याद थप गरिँदैछ ।

    जेन-जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनले गरेको सिफारिसका आधारमा शनिबार बिहान उनीहरू पक्राउ परेका थिए । प्रतिवेदनले ज्यान मुद्दामा कारबाही सिफारिस गरेको छ । उक्त कसुरमा ३ देखि १० वर्षसम्म सजायको प्रावधान छ ।

    उनीहरूलाई जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते मृत्यु भएका रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडा खत्रीसमेतको जाहेरीले म्याद थप गरी हिरासतमा राखिएको हो । रसिककी आमा रचना खतिवडा अहिले रास्वपाबाट समानुपातिक सा‌ंसद छिन् । सोही जाहेरीमा टेकेर अनुसन्धान भइरहेको छ ।

    पक्राउपछि ओली स्वास्थ्य उपचारका सिलसिलामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा र लेखक नेपाल प्रहरीको नम्बर २ गण सामाखुशीमा छन् । उनीहरु विरुद्धको मुद्दाको अनुसन्धान र अभियोजन जिल्ला प्रहरी परिसर, भद्रकालीले गरिरहेको छ ।

    परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बुधबार बयानका निम्ति परिसरमा झिकाइने तयारी गरिएको बताए । प्रहरीले नेपाल सरकारका सहसचिव तथा उक्त घटनामा काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारीमा रहेका छविलाल रिजालाई मंगलबार पक्राउ गरेको छ । उनको बयान भने बुधबार नै नहुने भएको छ ।

    तर, एमाले अध्यक्ष ओलीको स्वास्थ्यस्थितिका कारण बुधबार बयान नहुन पनि सक्ने र अर्को कुनै दिन गर्न सकिने भट्टराईले बताए । स्वास्थ्यस्थित जटिल भएका कारण ओली म्याद थपका लागि स्वयं उपस्थित हुन नसक्दा भिडियो कन्फरेन्सका माध्यमबाट प्रक्रिया पूरा गरिएको थियो ।

    बयान दिनका लागि स्वयं उपस्थित हुन नसकेमा उपस्थित हुनसक्ने अर्को कुनै दिन गर्न पनि सकिने एसपी भट्टाराईले बताएका हुन् । यदि बुधबार नै दुबैको बयान लिन सम्भव भएमा बिहीबार म्याद थप गरिने भएको छ । ‘भोलि नै बयान गर्नुपर्छ भन्ने अनिवार्य छैन, उहाँको स्वास्थ्यमा जहिले सहजता आउँछ, त्यसबेला गर्न सकिन्छ’, उनले भने ।

    जिल्ला अदालतले म्याद थपका क्रममा बयान कागजसँगै बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज र प्रतिवेदनको अध्ययन विश्लेषणलगायतको प्रयोजनका लागि ५ दिनको म्याद थप गरेको थियो । जिल्ला प्रहरी प्रवक्ता भट्टराईले फेरि म्याद थपका लागि जिल्ला अदालतमा माग गरिने बताए ।



    फास्ट न्युज    
  • २०८२ चैत्र १७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट