काठमाडौं। नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला विवादित अभिव्यक्तिको टिप्पणी गरेका छन्। निर्वाचनको संवेदनशील घडीमा सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले पार्टीलाई एकढिक्का बनाउने जिम्मेवारी नेतृत्वकै भएको बताएका छन्।
उनले यस्तो समयमा नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई जोड्ने ऊर्जा दिनुपर्ने उल्लेख गरेका छन्। आफ्नै सहयोद्धालाई सार्वजनिक रूपमा न्यूनिकरण गर्नु राजनीतिक परिपक्वता नभएको उनको भनाइ छ। बाह्य चुनौतीको सामना संस्थागत निर्णय र सामूहिक विचारको आधारमा गर्नुपर्नेमा उनले जोड दिएका छन्।
पाण्डेले टिकट वितरणको ‘क्याल्कुलेसन’ पार्टी हितका लागि विरोध नगरी स्वीकार गरिएको स्पष्ट गर्दै, पूर्वाग्रही टिप्पणीले एमालेको साझा संकल्पलाई कमजोर बनाउने बताएका छन्। वैचारिक असहमति राख्ने नेताहरू पनि उत्तिकै आदरणीय एमाले भएको र मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको उनको भनाइ छ। टिप्पणीहरूको खण्डनमा अल्झिनुभन्दा आफू एमालेका उम्मेदवारहरूलाई जिताउन र संगठनको साख जोगाउन पूर्ण रूपमा मैदानमा खटिएको पाण्डेले उल्लेख गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया