खोटाङ । कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८२–८३ का लागि ११२ वटा आयोजनाको ठेक्का आह्वान गरेको छ । प्रदेश सरकारले स्वीकृत गरेको करिब ६६ करोड रुपैयाँ बराबरका १२२ आयोजनामध्ये अधिकांशको ठेक्का प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ ।
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालका अनुसार ठेक्का आह्वान भएका आयोजनामा निर्माण कम्पनीसँग सम्झौताको प्रक्रिया पनि सुरु भइसकेको छ । जग्गा स्वामित्वको समस्या तथा स्थानीय विवाद रहेका केही आयोजनाको भने ठेक्का आह्वान हुन बाँकी रहेको उनले बताए । ती आयोजना पनि समस्या समाधानसँगै छिट्टै ठेक्कामा लैजाने तयारी भइरहेको दाहालले जानकारी दिए ।
जिल्लामा रहेका दुई नगरपालिका र आठ गाउँपालिकासहित १० स्थानीय तहमा प्रदेश सरकारबाट एक अर्ब रुपैयाँभन्दा बढी बजेटका १६४ वटा आयोजना स्वीकृत भएका छन् । यी आयोजनामा सडक कालोपत्रे, सडक विस्तार तथा स्तरोन्नति, मोटरेबल पक्की पुल, झोलुङ्गे पुल, आवास, कार्यालय तथा विद्यालय भवन निर्माणलगायतका योजना समावेश छन् ।
कार्यालयका अनुसार बहुवर्षीय आयोजनाअन्तर्गत २४ वटा नयाँ आयोजना प्रस्तावका लागि पेस गर्नुपर्नेछ भने १० वटा बहुवर्षीय आयोजना चालु अवस्थामा छन् । कतिपय आयोजनामा सम्झौता भई निर्माण कार्यसमेत सुरु भइसकेको छ ।
गत कात्तिक २ गतेदेखि पुस ३ गतेभित्र ११२ आयोजनाको ठेक्का आह्वान भएपछि जिल्लाका निर्माण व्यवसायीहरू उत्साहित बनेका छन् । समयमै ठेक्का प्रक्रिया सुरु हुँदा निर्माण कम्पनीहरू सम्झौता गर्न व्यस्त रहेको जनाइएको छ ।
यस वर्ष खोटाङमा अहिलेसम्मकै सबैभन्दा बढी आयोजनाका लागि बजेट विनियोजन भएको दाबी गरिएको छ । कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी खोटाङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य भूपेन्द्र राईले सम्हालेपछि एकैपटक १६४ आयोजनाका लागि बजेट विनियोजन भएको हो ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री राईले जिल्लाका सबै स्थानीय तहलाई समेटेर बजेट विनियोजन गरेको उनको सचिवालयको दाबी छ । जिल्लामा ठूलो मात्रामा बजेट र आयोजना भित्रिएपछि स्थानीयवासीहरूले खुसी व्यक्त गर्दै मन्त्री राईलाई धन्यवाद दिइरहेका छन् ।
साथै, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आएका आयोजना पारदर्शी र गुणस्तरीय रूपमा कार्यान्वयन गर्न मन्त्रालय र मन्त्रीलाई सुझाव दिइरहेका छन् ।
प्रदेश सरकारले सार्वजनिक गरेको रातो किताबअनुसार जिल्लामा स्वीकृत आयोजनामध्ये सबैभन्दा ठूलो बजेट रसुवाघाट–पाँचधारे सडक निर्माण आयोजनाका लागि विनियोजन गरिएको छ, जसमा १० करोड रुपैयाँ छुट्याइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया