काठमाडौँ। सङ्ख्याका आधारमा प्रतिपक्षी दललाई विश्वासमा नलिई संसद् चलाउन नहुनेमा सांसदहरुले जोड दिएका छन् ।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले उठेर विरोध जनाए । सभामुख घिमिरेले रास्वपाका सांसद निशा डाँगीलाई बोल्न समय दिनुभयो । सांसाद डाँगीले संसद् बहिष्कार विरोधको स्वरुप भएको उल्लेख गर्दै यो विगतमा अहिलेका सत्तारूढ दलहरुले पनि गरेको स्मरण गराउनुभयो ।
संसद्को विरोध लोकतान्त्रिक मूल्यमान्यताविरुद्ध भनी चित्रण गरेकामा उहाँले आपत्ति जनाउनुभयो । सत्तापक्षलाई खबरदारी गर्न रास्वपाले निरन्तर आन्दोलन गरिरहेको सांसद डाँगीको भनाइ थियो । संसद् सङ्ख्याका आधारमा नभई प्रतिपक्षलाई विश्वासमा लिएर अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।
रास्वपाले दुई महिनादेखि निरन्तर आन्दोलन गरिरहेको र परिणाम शून्य भए पनि यसलाई निरन्तरता दिने सांसद डाँगीको भनाइ थियो । जनताको समस्या समाधान गर्न सरकार सुस्त भएको, पक्षपातको मापदण्ड बनाएर उपसभामुखलाई निकाल्न खोजेको, संवैधानिक परिषद् लामो समयदेखि नबसी संवैधानिक निकायलाई रिक्त राखिएको सांसद डाँगीको आरोप थियो ।
सांसद अनिषा नेपालीले भारत र चीनबीच सम्झौता गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापारिक मार्ग खोल्ने सम्झौताको राप्रपाले विरोध गरेको बताउनुभयो ।
यी भू–भाग नेपालका अविभाज्य स्थान भएको उल्लेख गर्दै उहाँले राष्ट्रिय सहमतिका आधारमा यो समस्या समाधानका लागि अनुरोध गर्नुभयो ।भिजिट भिसामा छानबिन आयोग नबनेसम्म राप्रपाले प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने पनि उहाँले जानकारी गराउनुभयो । दुवै सांसदले बोलिसक्ने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरु संसद् भवनबाट बाहिरिएका थिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया