logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु, स्थानीय कोदोलाई बजारीकरण गर्ने प्रयास

    1.7KShares
    ‘दिक्तेल कोदो बिस्कुट’को व्यावसायिक उत्पादन सुरु, स्थानीय कोदोलाई बजारीकरण गर्ने प्रयास

    खोटाङ, १७ साउन । ‘प्रथम राष्ट्रिय कोदो दिवस–२०८२’को अवसरमा खोटाङको दिक्तेलमा शुभम् फाउण्डेशनले ‘दिक्तेल कोदो बिस्कुट’ नामक कोदोको बिस्कुट व्यावसायिक रूपमा उत्पादन थालेको छ।

    दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ५० प्रतिशत अनुदानमा उपकरण जडान गरी उत्पादन थालिएको बिस्कुट कोदोको पिठो, घ्यू, दूध र चिनीको मिश्रणबाट बनाइएको हो। १०० ग्रामको प्याकेटमा राखिएको बिस्कुटको खुद्रा मूल्य रु ५० निर्धारण गरिएको छ।

    कोदो दिवसको दिन बिस्कुट सार्वजनिक गर्दै साथमा कोदोबाट बनेका अन्य परिकारहरूको प्रदर्शनीसमेत गरियो। शुभम् फाउण्डेशन, कृषि ज्ञान केन्द्र खोटाङ र नगरपालिकाको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा केक, मोमो, कुकिज, सेलरोटी, सुक्खा रोटी, खिर र तोङ्बालगायतका परिकार प्रदर्शनमा राखिएका थिए।

    बिस्कुट सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, तीनवटै सुरक्षा निकायका प्रमुख, वडा नं २ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राईलगायतको उपस्थिति थियो।

    शुभम् फाउण्डेशनका कार्यकारी निर्देशक सूर्यबहादुर राईका अनुसार, स्वास्थ्यकर, गुणस्तरीय र स्वादिष्ट कोदो बिस्कुट उत्पादन गरेर बजारमा पठाउने उद्देश्य राखिएको छ। उनका अनुसार, कोदोलाई बजारीकरण गर्दै स्थानीय रोजगारी सिर्जना गर्न यो पहल सुरु गरिएको हो।

    फाउण्डेशनले उपभोक्ताको मागअनुसार अन्य कोदोका परिकार पनि उत्पादन गर्दै जाने तयारी गरेको छ। कोदोको स्थानीय उत्पादनलाई प्रशोधन गरेर उद्योगमा प्रयोग गर्न थालिएपछि कृषकहरूलाई पनि प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ।

    जिल्ला समन्वय समिति प्रमुख राईले बिस्कुटलाई स्वास्थ्यको दृष्टिले लाभदायक, स्वादिष्ट र प्रवद्र्धनयोग्य भन्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने यस्तो प्रयास सबैका लागि प्रेरणादायी भएको बताए।

    नगरपालिकाले रैथाने बाली प्रवद्र्धनका लागि १७ औँ नगरसभा बैठकबाट नीति तथा कार्यक्रम पारित गरेको कार्यबाहक नगरप्रमुख विशन राईले जानकारी दिए। उनले स्थानीय उत्पादन प्रवर्द्धन गर्न संघीय कानुनहरू संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै, यस विषयमा पहल जारी रहेको बताए।

    नगरपालिकाले शुभम् फाउण्डेशनको कोदो परिकारलाई विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि दिवा खाजाको रूपमा उपयोग गर्ने तयारी समेत गरिरहेको जनाएको छ। कोदाबाट बनेका परिकारहरू मधुमेह, मुटु रोग, एनिमिया नियन्त्रण, हड्डी बलियो बनाउने र रगतको मात्रा बढाउनेजस्ता औषधीय गुणसमेत भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ।

    यसै अवसरमा नगरपालिकाले कोदोको उपयोगिताबारे वत्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी विपासा खनाल पहिलो, माउन्ट एभरेष्ट बोर्डिङ स्कुलका प्रताप खत्री दोस्रो, शितला मावि खाल्लेकी प्रनिशा राई तेस्रो तथा जालपा माविका प्रज्ज्वल खड्का सान्त्वना स्थानमा परे।

    प्रतियोगिताका विजयीहरूलाई क्रमशः रु २,५००, रु २,२५०, रु २,००० र रु १,७५० नगद पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, कार्यक्रममा व्यावसायिक रूपमा उत्पादनमा संलग्न कृषकहरूलाई समेत नगदसहित सम्मान गरिएको कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८२ श्रावण १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट