logo

२०८३ जेष्ठ ५ मंगलवार

logo
  • २०८३ जेष्ठ ५ मंगलवार
  • ओली र देउवाबीच हुन नसकेको भेट अर्थपूर्ण ! ओलीले भने– ‘सन्चो छैन, नभेटौं’

    967Shares
    ओली र देउवाबीच हुन नसकेको भेट अर्थपूर्ण ! ओलीले भने– ‘सन्चो छैन, नभेटौं’

    काठमाडौं । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबीचको सम्बन्धमा अड्कलबाजी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेट पनि स्थगित भएको छ । सोमबार नियमित बस्ने मन्त्रिपरिषद् बैठक पनि स्थगित भएको छ ।

    ओली र देउवाबीच सोमबार साँझ ७ बजे भेट्ने समय तय भए पनि स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ । दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री ओलीलाई भेट्न देउवा नगएपछि मन्त्रिपरिषद् बैठक पनि अनिश्चित भएको छ।

    मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ। नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए। गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ। विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा मिल्न नसकेका कारण गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ।

    “प्रधानमन्त्रीज्यूले आज मलाई सन्चो छैन नभेटौं भनेपछि रोकिएको हो,” देउवा निकट स्रोतले जानकारी गराउँदै भन्यो, “गठबन्धनमै समस्या भएको भन्ने होइन ।” कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि गठबन्धनमा कुनै समस्या नभएको बताए । “गठबन्धनमा समस्या छैन,” उनले भने, “बालुवाटारबाट आज नभेटौं भनेपछि दुई नेताबीचको भेट रोकिएको हो ।”



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट