काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् । आजै नाउपा र जनमत पार्टीबीच एकता घोषणा हुँदै थियो । तर, चौधरी पक्राउ गरेपछि घोषणा कार्यक्रम स्थगित गरिएको छ ।
‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।
यसैगरी, जनमत पार्टीले देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउन भन्नका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको आरोप लगाएको छ ।
पार्टीका प्रवक्ता शरदसिंह यादवले प्रज्ञा प्रतिष्ठानमा अनलाइनखबरसँग कुराकानी गर्दै यस्तो बतँएका हुन् । ‘यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआउनु भन्नका लागि रेशम चौधरीलाई पक्राउ गरेको देखिन्छ,’ उनले भने । चौधरीलाई केहीबेरअघि प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागार लगिएको छ । यता दुई पार्टीबीच आज हुने भनिएको एकता सभा स्थगित गरिएको छ ।
प्रवक्ता यादवका अनुसार अब के गर्ने भन्नेबारे दुवै पार्टीबीच छलफल गरेर टुंगो लाग्नेछ । ‘अहिले तत्कालका लागि यो प्रक्रिया रोक्नुपर्ने स्थिति आयो,’ यादवले भने, ‘यो प्रक्रियालाई अघि बढाउन उपयुक्त देखिँदैन । आजका लागि यो कार्यक्रम स्थगित गरेका छौं ।’ टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । अहिले रेशम पक्राउको विरोधमा प्रज्ञा प्रतिष्ठानमा नाराबाजी भइरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया