काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको रोमाञ्चक खेलमा कर्णाली याक्सविरुद्ध तीन विकेटको जित निकालेको हो । प्रतियोगितामा काठमाडौंको यो पहिलो जित हो । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग आठले पराजित भएको थियो । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा सात विकेट गुमाएर भेट्टायो । काठमाडौंलाई अन्तिम दुई ओभरमा जितका निम्ति २१ रनको आवश्यकता थियो ।
१९औँ ओभरमा बलिङका निम्ति आएका कर्णालीका कप्तान सोमपाल कामीले १४ रन खर्चिदा काठमाडौंलाई अन्तिम ओभरमा जितका निम्ति सात रनको आवश्यकता थियो । १९औँ ओभरको अन्तिम बलमा काठमाडौंका कप्तान करण केसीलाई ‘डाउन द ग्राउन्ड’ देव खनालले उत्कृष्ट क्याच गर्दै पभेलियन पठाएपछि खेलले रोमाञ्चक मोड लिएको थियो । कप्तान करण केसीले आक्रामक ब्याटिङ गर्दै १० बलमा दुई चौका र दुई छक्कासहित २८ रन बनाए । उनी १९औँ ओभरको अन्तिम बलमा आउट हुँदा काठमाडौंलाई जितका निम्ति सात रनको आवश्यकता थियो ।
अन्तिम ओभर बलिङका निम्ति आएका नन्दन यादवले पहिलो बल वाइड फ्याके । पुनः पहिलो बल गर्दा यादवलाई सुमित महर्जनले चौका प्रहार गरे । नन्दनले तेस्रो बलमा दुई रन लिन खोज्दा राशिद खानलाई रनआउट गराए पनि काठमाडौंलाई जितका निम्ति चार बलमा एक रनमात्रै आवश्यकता थियो । सो ओभरको तेस्रो बलमा सुमितले चौका प्रहार गर्दै काठमाडौंको जित सुनिश्चित गरे । काठमाडौंका सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बलमा तीन चौका र एक छक्का प्रहार गरे । गेरहार्ड इरास्मरले ३८ रन बनाए । गुल्सन झाले गरेको १६औँ ओभरको अन्तिम बलमा सोमपाल कामीबाट क्याच हुनुअघि इरास्मसले २८ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।
४१–४ को कठिन स्थितिबाट इरास्मसले पाँचौँ विकेटका निम्ति समित महजर्ससँग ५७ रनको साझेदारी गर्दै काठमाडौंको इनिङ उकासेका थिए । त्यसअघि ओपनर माइकल लेभिटले २२ रन बनाएका थिए । १९ बलमा दुई चौका र एक छक्का प्रहार गरेको लेभिटलाई कर्णालीका विपिन शर्माले सातौँ ओभरको पाँचौँ बलमा नन्दन यादवबाट क्याच गराएका थिए । यसबाहेक, अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर शंकर राना ६ रनमा आउट हुँदा भीम सार्कीले नौ र स्टेफन एस्किनाजीले तीन रन जोडे । कर्णालीका कप्तान सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसान मक्सुद र विपीन शर्माले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रनको योगफल खडा गर्यो । कर्णालीका ओपनर शिखर धवनले अविजित ७२ रन बनाए । उनले ५१ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । धवनले ४२ बलमा तीन चौका र तीन छक्का प्रहार गर्दै ५० रन पूरा गरेका थिए । योसँगै धवन प्रतियोगितामा अर्धशतक बनाउने छैटौँ ब्याटर बने । उनीअघि जनकपुरका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । यस्तै, विराटनगरका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवनका रवि बोपाराले अर्धशतक बनाएका थिए । जितसँगै काठमाडौंले दुई खेलबाट दुई अंक जोडेको छ । कर्णालीको भने यो प्रतियोगितामा लगातार दोस्रो हार हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया