logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित

    1.2KShares
    बास्तोलाको कथासङ्ग्रह ‘रगतको मूल्य’ लोकार्पित

    काठमाडौं। कथाकार होमशङ्कर बास्तोलाको नविनतम कथाकृति ‘रगतको मूल्य’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्धारा विहिबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,छविरमण सिलवाल,आर एम डंगोल,कथाकार बास्तोला र प्रदीप सापकोटा लगायतले उक्त कथाकृति लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कथा नुहने मानिस दुनियाँमा हुँदैन् भन्दै त्यो कथालाई कसरी प्रस्तुत गर्ने भन्ने मात्र हो।पाठकलाई अनुभूत र द्रवित गराउने क्षमता जसमा हुन्छ उ राम्रो कथाकार मानिन्छ । बास्तोलामा आफुले उक्त क्षमता रहेको पाएको बताए ।

    समालोचक आर एम डंगोलले कृति यथार्थपरक सामाजिक कथाहरुले भरिएको बताए । उनले भने -‘अधिकाँश कथाको बुनोट यहि समाज हो । प्रथमदृष्टिविन्दु ,तृतिय पुरुषदृष्टिविन्दुमा विभिन्न पात्रहरु रहेका कथाहरु सहज र स्वभाविक लाग्छन् ।कथाहरु समय सापेक्ष र समाजमुखी छन्। ‘उनले मैनालीकै लाइनमा कथाकार बास्तोला उभिएको बताए । कथाकारले जहाँजहाँ कार्यथलो बनाए,त्यहाँ त्यहाँ भेटेका पात्र र तीनको चरित्रलाई कथानक रुप दिएको उनले बताए ।

    अर्का समीक्षक प्रदीप सापकोटाले आयामका हिसावले लघु र मध्यम आयामका १९ वटा कथा रहेको रगतको मूल्य भित्र सत्यका निकट रहेर लेखिएका कथाहरु छन । उनले अगाडि भने – ‘सामाजिक परिवेशबाट निर्मित चरित्रहरु प्रस्तुत गरेका बास्तोलाका कथाहरुका पात्रहरु हामै्र समाज वरपर,हाम्रै नाता सम्बन्धका जस्ता लाग्छन । पात्रहरुलाई जीवन्त बनाउन स्थानीय परिवेश र लवजलाई टिपेर कथा बुनोट गरिएको छ ।’ कथाका विषयवस्तु,थिम र पात्रहरुमा नविनता नभएपनि पाठकलाई पढ्दै जाँदा तान्दै लाने खुवी कथाकारमा रहेको सापकोटाले बताए ।रगतको मूल्यका स्रष्टा बास्तोलाले रचना गर्भ बारे आफ्ना कुरा राख्दै समाजका हर्ष,विस्मात,खशी,प्रेम,पीडा,विकृति र विसंगतिलाई टिपेर आफुले कथा लेखेको बताए । कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,साझा प्रकाशनका भेषराज घिमिरे,साहित्यकार बोधराज पौडेल लगायतले शुभकामना मन्तव्य राखे ।

    सुनकोशी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता तथा सदस्य पूर्णबहादुर श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो । लोकार्पित कृति साझा प्रकाशनले प्रकाशित गरेको हो



    फास्ट न्युज    
  • २०८२ कार्तिक १३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट