logo

२०८३ जेष्ठ ९ शनिबार

logo
  • २०८३ जेष्ठ ९ शनिबार
  • अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो

    796Shares
    अधिकमासमा मच्छेनारायण दर्शनका लागि श्रद्धालुको ओइरो

    काठमाडौं । ‘मलमास मेला’का नामले परिचित मच्छेनारायण मेला सुरु भएसँगै मन्दिर क्षेत्रमा भक्तजनको घुइँचो लाग्न थालेको छ । पुरुषोत्तम मास अर्थात् अधिकमासको अवसर पारेर लाग्ने यस मेलामा काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लाबाट लाखौँ श्रद्धालु भक्तजन सहभागी हुने गरेका छन् ।

    धार्मिक विश्वासअनुसार पुरुषोत्तम मासमा भगवान् नारायणको पूजा–आराधना, व्रत तथा दान गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने मान्यता रहिआएको छ । यही आस्थाका साथ भक्तजनहरू मच्छेनारायण मन्दिर पुगेर दर्शन, पूजाआजा तथा धार्मिक अनुष्ठानमा सहभागी भइरहेका छन् ।

    मन्दिर परिसरमा सुनको जलप लगाइएको गरुडको आकर्षक प्रवेशद्वार रहेको छ । परम्परागत नेपाली कला र संस्कृतिको झल्को दिने उक्त संरचनाले मन्दिरको सौन्दर्यलाई थप आकर्षक बनाएको छ । त्यस्तै, माछाको मुखबाट प्रकट भएको करिब एक फिट अग्लो भगवान् मत्स्यनारायणको मूर्ति यहाँको मुख्य आकर्षण बनेको छ । चार हातमा शङ्ख, चक्र, गदा र पद्म धारण गरेको उक्त मूर्तिलाई भक्तजनले विशेष श्रद्धाका साथ दर्शन गर्ने गरेका छन् ।

    हिन्दु धर्मग्रन्थअनुसार भगवान् विष्णुले दश अवतारमध्ये पहिलो अवतारका रूपमा मत्स्य रूप धारण गर्नुभएको विश्वास गरिन्छ । पुराणमा उल्लेख भएअनुसार प्रलयकालमा भगवान् मत्स्यरूपी अवतारले समुद्रमा डुङ्गाको काम गर्दै वेदहरूको रक्षा गर्नुभएको थियो । यही धार्मिक तथा पौराणिक महत्वका कारण मच्छेनारायण क्षेत्रलाई आस्थाको केन्द्रका रूपमा लिइन्छ ।

    अधिकमास करिब तीन वर्षको अन्तरालमा पर्ने भएकाले यस अवधिलाई धार्मिक दृष्टिले विशेष महत्वका साथ हेर्ने गरिन्छ । यसअघि विसं २०८० सालको साउन महिनामा अधिकमास परेको थियो । धार्मिक विश्वासअनुसार अधिकमासमा स्नान, दान, जप, तप तथा पूजा–आराधना गर्नाले विशेष पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट