काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको प्रमुख प्राथमिकता निर्वाचन भएको स्पष्ट पारेका छन् । संसद् पुनर्स्थापनाभन्दा निर्वाचन नै कांग्रेसको एजेन्डा भएको उनले बताएका हुन् ।
शुक्रबार तीन ठूला राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्न पुगेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगको छलफलमा देउवाले उक्त धारणा राखेका हुन् । भेटपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री खरेलले देउवाले कांग्रेसको प्राथमिकता निर्वाचन नै रहेको स्पष्ट रूपमा बताएका जानकारी दिए ।
“नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको प्राथमिकता संसद् पुनर्स्थापना नभई निर्वाचन हो भन्ने कुरा प्रस्टसँग राख्नुभएको छ,” मन्त्री खरेलले भने ।
मन्त्री खरेलका अनुसार देउवाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । साथै, निर्वाचन समयमै सम्पन्न गर्न कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन् ।
“निर्वाचनका लागि अनुकूल वातावरण र सुरक्षाको व्यवस्था आवश्यक रहेको उहाँको चासो थियो,” खरेलले भने, “निर्वाचन सफल बनाउन कांग्रेसले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले दिनुभएको छ ।”
यसैबीच, सरकारले निर्वाचनको तयारी र राजनीतिक सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरूसँग निरन्तर भेटवार्ता गर्दै आएको छ । सोही क्रममा शनिबार प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका सभापति देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया