काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।
त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।
यस्तै हिजै भएको अर्को खेलमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले पराजित गरेको छ । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८ ओभर चार बलमा एक सय ६८ रनमा अलआउट भयो ।त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ३९ बलमा एक सय पाँच रन बनाउँदै नटआउट शतकीय पारी खेले ।
हैदराबाद र कोलकाता यसअघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सीमित रह्यो ।अब आईपीएल क्रिकेटमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया