logo

२०८३ कार्तिक २८ शुक्रबार

logo
  • २०८३ कार्तिक २८ शुक्रबार
  • छठ पर्वको ‘नहाय-खाय’ विधि आजदेखि सुरु, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

    955Shares
    छठ पर्वको ‘नहाय-खाय’ विधि आजदेखि सुरु, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

    काठमाडौँ । आस्था, श्रद्धा र निष्ठाको महापर्व छठअन्तर्गत आजदेखि ‘नहाय-खाय’ विधि सुरु भएको छ। यस विधिमा व्रतालुहरू बिहानै नदी, ताल, तलैया तथा अन्य जलाशयमा गई स्नान गरी शुद्ध हुने गर्दछन्। स्थानीय भाषामा यस विधिलाई ‘नहाय-खाय’ भनिन्छ।

    छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले विधिपूर्वक नहाय-खाय मनाउँछन्। पर्वको दोस्रो दिन भोलि शनिबार ‘खर्ना’ मनाइनेछ। खर्नाका दिन व्रतालुहरू दिनभर उपवास बसी साँझ छठ देवतालाई निम्तो दिँदै कुलदेवताको पूजा गर्छन्। त्यसपछि राति नुन नहालेका परिकार अर्थात् ‘अरवा-अरबाइन’ ग्रहण गर्ने परम्परा छ।

    छठको मुख्य पूजा षष्ठी तिथिका दिन गरिन्छ। यस वर्ष आइतबार साँझ व्रतालुहरूले नजिकैको जलाशय वा नदीमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्।

    यस अवसरमा घरघरमा गहुँ र चामलको पिठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरियालगायत परिकार तयार गरिन्छ। साथै विभिन्न प्रकारका फलफूल, मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरा नाङ्लो, कोनिया, सरवा, ढाकन तथा ठूलो ढाक्कीमा सजाएर सूर्यलाई अर्घ्य दिने चलन छ।

    मुख्य पूजाका दिन परिवारका सबै सदस्य भक्तिभावका साथ छठका लोकगीत गाउँदै नदी वा जलाशय किनारमा निर्माण गरिएका छठ घाटमा पुग्ने गर्दछन्।

    त्यसैगरी, पर्वको अन्तिम दिन सोमबार बिहान व्रतालुहरू पुनः छठ घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। रातभर घाटमा जाग्राम बसेपछि सप्तमी तिथिका दिन बिहान सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् सम्पन्न हुनेछ।

    छठ पर्वमा श्रद्धापूर्वक व्रत तथा पूजा गरेमा मनोकांक्षा पूरा हुने र छालासम्बन्धी रोगबाट मुक्ति मिल्ने धार्मिक एवं सामाजिक जनविश्वास रहिआएको छ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट