logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, ढुक्क भएर लगाउन आग्रह

    952Shares
    आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप, ढुक्क भएर लगाउन आग्रह

    काठमाण्डौ – आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ ।

    विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।

    यस अभियानमा विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले देशभर तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एपीभी) खोप दिन लागिएको बताउनुभयो ।

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिनुभयो ।

    त्यसैगरी अभियानका लागि ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । यसैबीच पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एपीभी) को सङ्क्रमणले हुने स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सृष्टि श्रेष्ठ प्रजापतिले बताउनुभयो ।

    नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार एपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन । बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन डा.प्रजापतिले आग्रह गर्नुभएको छ ।

    नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ । हरेक वर्ष एक हजार तीन सय १३ जना र औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा.बुढाथोकीले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गर्नुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट