काठमाण्नेडाै । नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला ले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्रको अवस्था सर्वोच्च अदालतको निर्णयपछि जटिल बनेको टिप्पणी गरे।
उनले विगतका विभाजन सम्झाउँदै अहिलेको अवस्थालाई “आश्चर्यजनक” भन्दै पार्टीभित्र संवाद र सहमतिबाट अघि बढ्नुपर्ने बताए। “महाधिवेशन गर्न दुईवटै पक्षका मुख्य व्यक्तिलाई समेटेर समिति बनाएर जान सकिन्छ,” उनले भने।
कोइरालाले कांग्रेसको एकता केवल पार्टीको विषय नभई देशको स्थायित्वसँग जोडिएको दाबी गरे। उनले चेतावनी दिँदै भने, “जबसम्म कांग्रेस एक हुँदैन, नेपालको भविष्य नै अन्धकार हुन सक्छ।”
उनले संविधानको रक्षा र लोकतान्त्रिक मूल्य जोगाउन कांग्रेस एक हुनैपर्ने धारणा राखे। आफूलाई कुनै पद वा स्वार्थ नचाहिने उल्लेख गर्दै उनले कार्यकर्तालाई पार्टी एकताका लागि पहल गर्न आग्रह गरे।
“पार्टी एक भए राष्ट्र बाँच्छ, हामी सबै बाँच्छौँ,” भन्दै उनले कांग्रेस कार्यकर्तालाई ठूलो जिम्मेवारी बोधका साथ अघि बढ्न आह्वान गरे।
प्रतिक्रिया