काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थनका रूपमा नबुझ्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले विभिन्न उम्मेदवारहरूको सूची आफ्नो नामसँग जोडेर प्रचारप्रसार भइरहेको भन्दै त्यस्ता सूची आफ्नो आधिकारिक समर्थन वा सिफारिस नभएको स्पष्ट पारेका हुन्।
उनले पार्टीभित्रको निर्वाचनलाई स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया भएको उल्लेख गर्दै यसपटक कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्। आफ्नो नाम जोडेर सार्वजनिक गरिएका उम्मेदवारहरूको सूचीका आधारमा भ्रममा नपर्नसमेत उनले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन्।
थापाले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह, भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन्।
यसैबीच, केन्द्रीय कार्यसमितिका लागि हिजो तय गरिएको मतदान प्राविधिक कारणले एक दिन ढिलो हुन पुगेकोप्रति उनले महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाका लागि क्षमा मागेका छन्।
उनले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गर्दै प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया