logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • बादलको ‘बालेन्द्रतन्त्र’ टिप्पणीमा समीक्षा बास्कोटाको नियमापत्ति, सरकारमाथि अधिनायकवादको आरोप

    703Shares
    बादलको ‘बालेन्द्रतन्त्र’ टिप्पणीमा समीक्षा बास्कोटाको नियमापत्ति, सरकारमाथि अधिनायकवादको आरोप

      काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले बालेन्द्र शाह नेतृत्वको सरकारमाथि राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका सवालमा गम्भीर संकट निम्त्याएको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा र विपक्षीप्रतिको व्यवहारमाथि प्रश्न उठाउँदै सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गरे ।

    थापाले वर्तमान सरकारको कार्यशैलीलाई विगतका निरंकुश शासनसँग तुलना गर्दै ‘बालेन्द्रतन्त्र’ को संज्ञा दिए । उनले २०१७ सालको महेन्द्रतन्त्र र २०६१ सालको ज्ञानेन्द्रतन्त्रजस्तै अहिले पनि अधिनायकवादी प्रवृत्ति देखिन थालेको आरोप लगाए ।

    ‘बालेन सरकारको स्वेच्छाचारी र अधिनायकवाद अध्यादेशबाट सुरु भयो । अधिनायकवादी शासकमा चरम महत्त्वाकांक्षा प्रकट भइरहेका छन्,’ थापाले भने ।

    उनले सरकारलाई ‘१८२ तले काँचको घर’ को संज्ञा दिँदै विपक्षीमाथि ढुंगा नहान्न चेतावनीसमेत दिए । ‘१८२ तले काँचको घरमा बसेर ढुंगा नहान,’ उनले भने ।

    थापाले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा रणनीतिमा समेत ‘खतरनाक विचलन’ आएको दाबी गरे । उनले तिब्बती मामिला र दलाई लामासँग सम्बन्धित गतिविधिलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठाए ।

    उनका अनुसार सरकारले टीओबी तथा पश्चिमी कूटनीतिज्ञलाई दलाई लामाको जन्मोत्सव मनाउने बहानामा राजनीतिक गतिविधि गर्ने अनुमति दिएको छ । यस विषयमा चीनले चासो र चेतावनी व्यक्त गरेको दाबी गर्दै उनले नेपालमा आयोजना हुने भनिएको एउटा अन्तर्राष्ट्रिय सम्मेलनसमेत चीनको आपत्तिपछि स्थगित गरिएको जिकिर गरे ।

    थापाले नेपालमा रहेका निर्वासित तिब्बती समुदायको विषयसमेत उठाउँदै उनीहरूलाई नेपालले मानवीय आधारमा शरण दिएको, तर राजनीतिक शरणार्थीको मान्यता नदिएको बताए । केही शोधकर्ताले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सञ्चय भइरहेको र विगतमा लुटिएका हतियार त्यहाँ लुकाइएको हुनसक्ने आशंका गरेको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

    सरकारमाथि चौतर्फी प्रश्न उठाउँदै थापाले रवि लामिछानेको नेतृत्वमा सरकार पुनर्गठन गर्नुपर्ने मागसमेत राखे । वर्तमान सरकार नसच्चिए ‘ठूलो परिवर्तनको आँधीबेहरी’ आउने चेतावनी दिँदै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे ।

    तर, थापाको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले प्रतिनिधिसभामै नियमापत्ति जनाइन् । उनले राजनीतिक दल कुनै व्यक्ति वा समूहको ठेक्का नभएको भन्दै नागरिकले दिएको मतको सम्मान गर्नुपर्ने बताइन् ।

    ‘नागरिकले मत दिनुभयो । ठाउँमा पुर्‍याउनुभयो । सरकार निर्माण भयो । लोकतन्त्रको उपहास हामीले होइन, विपक्षीले मतदाताको उपहास गरिरहेका छन्,’ बास्कोटाले भनिन् ।

    बास्कोटाले थापाले सरकारलाई ‘बालेन्द्रतन्त्र’ का रूपमा प्रस्तुत गरेकोप्रति पनि आपत्ति जनाइन् । शाही शासनसँग तुलना गर्ने शैली उपयुक्त नभएको भन्दै उनले थापालाई संविधान पढ्न आग्रह गरिन् ।

    यसरी बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारको कार्यशैली र राजनीतिक दिशालाई लिएर एमाले नेता थापा र रास्वपा सांसद बास्कोटाबीच फरक धारणा प्रकट भयो । थापाले सरकारलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउँदै पुनर्गठनको माग गरे भने बास्कोटाले जनमतबाट बनेको सरकारलाई शाही शासनसँग तुलना गर्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विपक्षीले नै मतदाताको अपमान गरिरहेको तर्क गरिन् ।



    फास्ट न्युज    
  • २०८३ भाद्र ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट