logo

२०८३ भाद्र ११ बिहीबार

logo
  • २०८३ भाद्र ११ बिहीबार
  • राष्ट्रियता संकटमा, कांग्रेस एकता अपरिहार्य : पूर्णबहादुर खड्का

    805Shares
    राष्ट्रियता संकटमा, कांग्रेस एकता अपरिहार्य : पूर्णबहादुर खड्का

    काठमाडौं,  नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता र संविधान गम्भीर संकटमा रहेको भन्दै त्यसको सामना गर्न पार्टीभित्र पूर्ण एकता आवश्यक रहेको बताएका छन् ।

    शुक्रबार कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले अहिलेको राष्ट्रिय परिस्थिति २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामाथि खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयभन्दा पनि ‘सयौँ गुणा’ बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गरे ।

    उनले पछिल्लो समय देशका विभिन्न भागमा देखिएका जातीय तथा धार्मिक द्वन्द्व र मधेसमा उत्पन्न अस्थिरताका घटनाले गम्भीर संकेत गरेको बताए । अहिले देखिएका घटनालाई उनले भविष्यमा आउन सक्ने भयावह परिस्थितिको ‘ट्रेलर’को संज्ञा दिँदै समयमै सचेत हुनुपर्नेमा जोड दिए ।

    खड्काले राष्ट्रियता र संविधानको रक्षाका लागि कांग्रेसभित्रको एकता र लोकतन्त्रवादी शक्तिहरूबीचको ध्रुवीकरण आवश्यक रहेको बताए । छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई पनि राष्ट्रिय हितलाई केन्द्रमा राखेर गम्भीरतापूर्वक अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    पार्टीको आन्तरिक विवादतर्फ संकेत गर्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने संकल्प गर्नुपर्ने बताए । विशेष महाधिवेशन वा अन्य कुनै नाममा पार्टीभित्र गरिने अवैधानिक गतिविधिले संगठनलाई थप कमजोर बनाउने उनको दाबी थियो ।

    यसअघि बोल्दै खड्काले विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा र कांग्रेस दुवै ‘खाल्डोमा परेको’ टिप्पणी गरेका थिए । सर्लाहीको चुनावी मैदानमा गएपछि थापा स्वयं र पार्टी नै खाल्डोमा परेको उनको आरोप थियो ।

    विशेष महाधिवेशन रोक्न यसअघि भएको सहमतिको स्मरण गर्दै खड्काले १५औँ महाधिवेशनको कार्यतालिका, क्रियाशील सदस्यता व्यवस्थापन र अधिवेशनको समयतालिकाबारे तत्कालीन नेतृत्वबीच सहमति भएको दाबी गरे । तर, पछि १५औँ महाधिवेशनका कार्यक्रम स्थगित गरी विशेष महाधिवेशनको पक्षमा विज्ञप्ति निकालिएपछि परिस्थिति बदलिएको उनले बताए ।

    पार्टीभित्र आफूले एकताको प्रयास गर्दा कांग्रेसबाटै सञ्चालित सामाजिक सञ्जालमार्फत आफूलाई ‘असक्षम’ भनेर अपमान गरिएको आरोपसमेत खड्काले लगाए ।

    खड्काले अहिलेको संकटबाट मुलुकलाई जोगाउन कांग्रेसले आन्तरिक विवादभन्दा माथि उठेर राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट