काठमाडौं ।
काठमाडौं उपत्यकाभित्र रहेका सुकुम्बासी बस्तीहरू संघीय सरकारले हटाएपछि विस्थापित बनेका नागरिकहरूको अवस्थालाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिकाले महत्वपूर्ण निर्णय गरेको छ।
विभिन्न समयमा काठमाडौं आएका र वर्षौंदेखि संघर्षपूर्ण जीवन बिताइरहेका हलेसी तुवाचुङ नगरपालिकाका नागरिकहरू बस्ती हटाइएपछि अहिले अप्ठ्यारो परिस्थितिमा परेका छन्।
नगरपालिकाको मेयर बिमला राईले आफ्नो फेसबुक पोष्ट मार्फत प्रभावित नागरिकप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ। मेयर राईले नगरको निर्णयलाई सार्वजनिक गर्दै आफ्नो जन्मथलो फर्किन चाहने नागरिकहरूको भावनालाई सम्मान गर्दै नगरपालिकाले उनीहरूको पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यसै सन्दर्भमा वैशाख २३ गते बुधबार बसेको नगर कार्यपालिका बैठकले गाउँ फर्किन इच्छुक तर आफ्नै जग्गा हुँदाहुँदै पनि बसोबासका लागि घर नभएका परिवारलाई आवास निर्माणमा आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। यस निर्णयले विस्थापित नागरिकहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।
नगरपालिकाले सुरक्षित आवासको अभावले उत्पन्न चिन्ता र अन्योलप्रति आफूहरू पूर्ण रूपमा संवेदनशील रहेको उल्लेख गर्दै आफ्ना नागरिकको साथमा सधैं रहने प्रतिबद्धता दोहोर्याएको छ।
“आउनुहोस्, आफ्नै गाउँको माटोमा सम्मानपूर्वक जीवनयापन गर्दै हाम्रो गाउँ, हाम्रो पहिचान र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ यात्रा सुरु गरौं,” भन्ने सन्देशसहित मेयर बिमला राईले सबैलाई गाउँ फर्किन आह्वान समेत गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया