logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • हिंसापीडित महिलाका लागि दिक्तेलमा ‘सेफ हाउस’ सञ्चालन

    919Shares
    हिंसापीडित महिलाका लागि दिक्तेलमा ‘सेफ हाउस’ सञ्चालन

    खोटाङ, १४ असोजः खोटाङको दिक्तेल बजारमा हिंसापीडित महिलाका लागि सुरक्षित गृह (सेफ हाउस) सञ्चालनमा ल्याइएको छ । सेफ हाउस सञ्चालनका लागि सेवा समाज नेपाल नेर्पाले दिक्तेलस्थित आफ्नै कार्यालय भवनको तीनवटा कोठा उपलब्ध गराएपछि यो सम्भव भएको जनाइएको छ । बाल सेवा समाज नेपाल नेर्पाको २५औँ साधारणसभाको अवसरमा आइतबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई र दिक्तेल रुपाकोटमा मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले संयुक्तरूपमा ‘सेफ हाउस’ शुभारम्भ गर्नुभयो ।

    हिंसापीडित महिलाको अवस्था र न्यायका लागि घरै छाडेर हिँड्नुपरेको बाध्यतात्मक परिस्थितिलाई ध्यान दिएर दिक्तेलमा सेफ हाउस स्थापना गरिएको जिल्ला समन्वय प्रमुख राईले बताउनुभयो । सञ्चालनका लागि जिल्ला अस्पतालका प्रमुख डा. रूपेश सङ्ग्रौला र बाल सेवा समाज नेपालका अध्यक्ष चन्द्रकला भुजेलबीच द्विपक्षीय सम्झौता गरिएको छ । सेफ हाउसलाई जिल्ला अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल सेवा समाज नेपालले व्यवस्थापन गर्ने द्विपक्षीय सहमति सम्झैतामा उल्लेख छ । जिल्ला अस्पतालले बाल सेवा समाज नेपाललाई सञ्चालन तथा व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी द्विपक्षीय सम्झौता गरेर दिएको हो । घरेलु हिंसा तथा विभिन्न कारणले समस्यामा परेर उद्धार गरिएका पीडित महिलालाई आपत्कालीन अवस्थामा राख्ने व्यवस्थाका लागि सेफ हाउस स्थापना गरिएको बाल सेवा समाजका अध्यक्ष भुजेलले बताउनुभयो ।

    कार्यक्रममा सहभागी वक्ताले जिल्लामा पहिलोपटक स्थापना गरिएको सेफ हाउस अत्यावश्यक रहेको बताएका छन् । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्का, नेपाल पत्रकार महासङ्घका अध्यक्ष दिलीप खत्री, जिल्ला अस्पतालका प्रमुख डा. रूपेश सङ्ग्रौला, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईँ, करुणा फाउण्डेसनका कार्यक्रम संयोजक संयोग खतिवडा, गैरसरकारी सस्था महासङ्घका अध्यक्ष युवराज रिजाललगायतले सेफ हाउस सञ्चालनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट