इलाम । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं प्रवक्ता डा. प्रकाशशरण महतले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्ने केन्द्रीय समितिको निर्णयपछि विशेष महाधिवेशनको विषय उठाउनु पार्टीको विधि र विधानविपरीत भएको आरोप लगाएका छन् ।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत इलाम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महतले गगन थापाको राजनीतिक कार्यशैली र अभिव्यक्तिमाथि समेत प्रश्न उठाए ।
गठबन्धन नगर्ने भाषण गर्दै आएका गगन थापा केपी शर्मा ओलीको निवासमा किन पुगेको भन्दै महतले प्रश्न गरे । मधेश प्रदेश सरकारको गठबन्धनबारे छलफल गर्न ओलीलाई भेट्न गएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हिजो गठबन्धन नगर्ने भन्ने, आज फेरि कस्तो गठबन्धन भन्दै दौडिने ? हिजो केपी ओलीलाई छिछिदूरदूर गर्ने, आज उहाँलाई भेट्न किन पुग्ने ?’
गगन थापाले आफ्ना अभिव्यक्ति र व्यवहारमा एकरूपता नदेखाएको आरोप लगाउँदै महतले सधैँ झुट र भ्रमको राजनीति गर्ने प्रवृत्तिबाट सचेत रहन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
निर्वाचन परिणामको प्रसंग जोड्दै महतले शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले २०७९ को निर्वाचनमा ८९ सिट प्राप्त गरेको स्मरण गराए । तर, नेतृत्व परिवर्तनपछि कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा सीमित भएको र गगन थापा स्वयं पनि निर्वाचनमा पराजित भएको उल्लेख गर्दै उनले पार्टीको अवस्थाबारे गम्भीर समीक्षा गर्नुपर्ने बताए ।
उनले पार्टीभित्र विधि, विधान र संस्थागत निर्णयको सम्मान गर्दै भ्रममा नपरी संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया