जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामआशिष यादवले प्रदेशसभा बैठक आह्वान गरेका छन्। बैठकको कार्यसूची तय गर्न शनिबार कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुख यादवले जानकारी दिएका छन्।
सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। विश्वासको मतका लागि आवश्यक बहुमत जुटाउन मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा जुटेका छन्।
नेपाली कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्दै आएका नेकपा एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको छ। सरकारको निरन्तरता कायम राख्न मुख्यमन्त्री यादव विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयासमा छन्।
१०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।
प्रदेशसभाको अंकगणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया