logo

२०८३ कार्तिक २८ शुक्रबार

logo
  • २०८३ कार्तिक २८ शुक्रबार
  • स्वर्णिम वाग्लेको ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

    943Shares
    स्वर्णिम वाग्लेको ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ अभिव्यक्तिप्रति कमल थापाको आपत्ति

    काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा दिएको ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापाले आपत्ति जनाएका छन् । उनले वाग्लेको अभिव्यक्तिले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका छन् ।
    नयाँदिल्लीमा शुक्रबार आयोजित एनडीटीभी वर्ल्ड समिट २०२६ मा बोल्दै अर्थमन्त्री वाग्लेले नेपालमा कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिएको भए पनि अब त्यो युग समाप्त भएको बताएका थिए ।

    वाग्लेको उक्त अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्नु आपत्तिजनक भएको बताएका छन् । उनका अनुसार नेपालको राष्ट्रवाद कुनै मुलुकविशेषको विरोधमा आधारित नभई देशको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र नेपाली जनताको हितको संरक्षणमा केन्द्रित छ ।
    थापाले सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर समग्र नेपाली राष्ट्रिय भावनालाई भारतविरोधीका रूपमा चित्रण गर्नु पूर्वाग्रही दृष्टिकोण भएको टिप्पणी गरेका छन् । उनले नेपालले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको स्पष्ट पार्दै राष्ट्रिय हितका विषयमा उठ्ने आवाजलाई भारतविरोधीका रूपमा बुझ्न नहुने बताएका छन् ।
    उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौँ; तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो ।”

    थापाले राष्ट्रहितका विषयमा उठ्ने आवाजहरू असान्दर्भिक भइसकेका हुन् भन्दै प्रश्नसमेत गरेका छन् । साथै, वाग्लेको अभिव्यक्ति विगतमा अघि सारिएको ‘मुनरो डक्ट्रिन’को उपज त होइन भन्दै उनले त्यसबारे जिम्मेवार पदमा रहेका व्यक्तिले जवाफ दिनुपर्ने बताएका छन् ।
    उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको धारणा पनि यही हो कि होइन भन्ने प्रश्न उठाएका छन् । यससँगै नेपाल–भारत सम्बन्धबारे सरकारको आधिकारिक दृष्टिकोण सार्वजनिक हुनुपर्ने उनको आशय छ ।
    नेपाल–भारत सम्बन्धलाई आर्थिक सहकार्य, व्यापार, ऊर्जा, कनेक्टिभिटी र विकासका अवसरसँग जोडेर अघि बढाउनुपर्ने विषयमा वाग्लेले जोड दिएका छन् । अर्कोतर्फ, थापाले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउँदा नेपालको सार्वभौमिकता र राष्ट्रिय हितका विषयमा उठ्ने प्रश्नलाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गर्न नहुने धारणा राखेका छन् ।
    यसरी वाग्लेले नेपाल–भारत सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउने सन्दर्भमा पुरानो भारतविरोधी राष्ट्रवादी भाष्यबाट बाहिर निस्कनुपर्ने बताएका छन् भने थापाले राष्ट्रिय हित र सार्वभौमिकताको पक्षमा उठ्ने आवाजलाई भारतविरोधसँग जोड्न नहुने तर्क गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट