logo

२०८३ आश्विन २९ बिहीबार

logo
  • २०८३ आश्विन २९ बिहीबार
  • उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको

    880Shares
    उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको

    खाँदबारी — नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको दुर्गम उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु गरेको छ। भौगोलिक रूपमा विकट यस क्षेत्रमा लामो समयदेखि स्थानीय लघु जलविद्युत् आयोजनाबाट मात्र बिजुली उपभोग भइरहेकोमा अब चौबीसै घण्टा भरपर्दो केन्द्रीय प्रसारण प्रणाली जोडिएको हो।

    प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय अन्तर्गतको योजना तथा प्राविधिक सेवा विभागमार्फत हटिया बजार र आसपासका क्षेत्रमा लाइन विस्तार गरिएको हो। खाँदबारी वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले भोटखोला गाउँपालिकाको प्रशासनिक कार्यालय र हटियास्थित स्थानीय अस्पतालमा थ्री–फेज (Three Phase) मिटर जडान गरी औपचारिक रूपमा विद्युत् आपूर्ति सुरु गरिएको जानकारी दिए। राष्ट्रिय लाइन पुगेसँगै स्थानीय बासिन्दा, सरकारी कार्यालय, स्वास्थ्य संस्था, कुटानी–पिसानी मिल तथा साना घरेलु उद्योगहरू प्रत्यक्ष लाभान्वित भएका छन्।

    चालु आर्थिक वर्षभित्रै किमाथाङ्का पुग्ने
    हटियामा बिजुली बालेसँगै प्राधिकरणले अब चीनसँग सीमा जोडिएको संखुवासभाको अन्तिम विन्दु किमाथाङ्का नाकासम्म राष्ट्रिय प्रसारण लाइन पुर्‍याउने प्रक्रियालाई तीव्र पारेको छ। किमाथाङ्का क्षेत्रमा विद्युतीकरणका लागि आवश्यक ठेक्का प्रक्रिया टुङ्गिइसकेको र चालु आर्थिक वर्ष २०८३/८४ भित्रै त्यहाँ राष्ट्रिय ग्रिडको बिजुली बाल्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जनाएको छ।
    हाल सङ्खुवासभा जिल्लाभर करिब ९५ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच पुगिसकेको छ भने बाँकी ५ प्रतिशत क्षेत्रमा लघु जलविद्युत् र सौर्य ऊर्जामार्फत उज्यालो पुर्‍याइएको छ। दुर्गम र विकट बस्तीहरूमा राष्ट्रिय लाइन विस्तार भएसँगै ती क्षेत्रको शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र स्थानीय आर्थिक गतिविधिमा ठूलो रूपान्तरण आउने विश्वास लिइएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन २७, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट