logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडकमा यातायात सञ्चालन गर्ने तयारी

    1.1KShares
    असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडकमा यातायात सञ्चालन गर्ने तयारी

    काठमाडौँ । रसुवा बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्रै यातायात सञ्चालन गर्नेगरी मर्मत तथा पुनर्निर्माणको काम भइरहेको छ।

    सडक विभागका अनुसार अधिकांश स्थानमा मर्मतपछि यातायात सञ्चालनमा आइसकेको छ। विभागका महानिर्देशक डा. विजय जैसीले दसैँसम्म गल्छी–स्याफ्रुबेँसी सडकमा नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

    धादिङ–नुवाकोट जोड्ने कोल्पुखोलामा अस्थायी मर्मत सम्पन्न भएसँगै यातायात सञ्चालनमा आएको छ। सो स्थानमा स्थायी मर्मतका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको र निर्माण व्यवसायीले काम सुरु गरिसकेको विभागले जनाएको छ।

    रातोमाटेमा बाढीले करिब २०० मिटर सडक कटान गरेपछि ‘ब्याक कटिङ’ गरी यातायात सञ्चालनमा ल्याइएको छ। त्यस्तै, नुवाकोटको देवीघाटमा नेपाली सेनाले बेलीब्रिज जडान गरेपछि गल्छीदेखि विदुरसम्म यातायात सञ्चालनमा आएको छ।

    विदुरदेखि बेत्रावतीसम्मको करिब १० किलोमिटरमध्ये नौ किलोमिटर सडक खुलिसकेको छ। करिब ३०० मिटर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध रहेकाले नेपाली सेनाले ‘ब्लास्टिङ’ गर्दै दुवैतर्फबाट ट्रयाक खोल्ने काम सुरु गरेको छ। उक्त क्षेत्रमा केही दिनभित्रै यातायात सञ्चालनमा ल्याउने अपेक्षा गरिएको छ।

    त्यसपछि बेत्रावती र स्याफ्रुबेँसीमा बेलीब्रिज जडान गर्नुपर्नेछ। यी दुई स्थानमा बेलीब्रिज जडान सम्पन्न भएपछि गल्छीदेखि स्याफ्रुबेँसीसम्म यातायात सञ्चालन गर्न सकिने विभागले जनाएको छ।

    बेत्रावतीमा पुरानो पुल रहेकै स्थानमा बेलीब्रिज जडान गर्ने तयारी गरिएको छ। पुरानो फाउन्डेसन भेटिएकाले त्यसको मर्मतपछि नेपाली सेनासँग रहेको ७२ मिटर लामो बेलीब्रिज जडान गरिने महानिर्देशक जैसीले बताए।

    बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको सडकमा भने ठूलो समस्या नरहेको विभागले जनाएको छ। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्नेछ। त्यसका लागि ७६ मिटर लामो बेलीब्रिज जडान गर्नेगरी डिजाइनको काम सुरु गरिएको छ।

    विभागका अनुसार स्याफ्रुबेँसीमा करिब ९० मिटर लामो पुल आवश्यक भए पनि उपलब्ध संरचनाअनुसार ७६ मिटरको बेलीब्रिज प्रयोग गर्ने तयारी गरिएको छ।

    यता, स्याफ्रुबेँसीदेखि रसुवागढीतर्फ करिब १५ किलोमिटर सडक बाढीबाट पूर्ण रूपमा प्रभावित भएको छ। उक्त क्षेत्रमा सडकको अवस्थाबारे सर्भेक्षण सुरु भइसकेको विभागले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ आश्विन ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट