logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • एनभिडिया प्रमुखको १० मिलियन डलर सहयोगले बाढीपछिको पुनर्निर्माणमा थपियो अन्तर्राष्ट्रिय साथ

    721Shares
    एनभिडिया प्रमुखको १० मिलियन डलर सहयोगले बाढीपछिको पुनर्निर्माणमा थपियो अन्तर्राष्ट्रिय साथ

    काठमाडौं । रसुवाको भोटेकोशी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार र राहतसँगै पुनर्निर्माणको चुनौती बढिरहेका बेला विश्वकै प्रमुख प्रविधि कम्पनीमध्ये एक एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपाललाई ठूलो आर्थिक सहयोग गरेका छन् ।

    हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रुपैयाँ) सहयोग गरेका हुन् । बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि सहयोग उपलब्ध गराइएको हो ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भिडियो सन्देशमार्फत सहयोगको पुष्टि गर्दै हुआङप्रति नेपाल सरकारका तर्फबाट आभार व्यक्त गरेका छन् । उनले एनभिडियाको यो सहयोगले विपत्तिमा परेका नेपालीलाई सहयोग गर्न अन्य व्यक्ति तथा संस्थालाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

    हुआङको सहयोगको महत्व रकममा मात्रै सीमित छैन । बाढीले ठूलो मानवीय क्षति गर्नुका साथै सडक, पुल, सञ्चार संरचना र जलविद्युत् आयोजनामा व्यापक क्षति पुर्‍याएको अवस्थामा अब तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक पर्ने देखिएको छ ।

    यसै सन्दर्भमा एनभिडियाबाट आएको १० मिलियन डलरको सहयोगले विपद्पछिको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय निजी क्षेत्रको चासो र साथलाई समेत देखाएको छ । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय संस्था, विदेशी सरकार, निजी कम्पनी तथा व्यक्तिबाट नेपालले राहत तथा पुनर्निर्माणका लागि सहयोग प्राप्त गरिरहेको छ ।

    अर्थमन्त्री वाग्लेका अनुसार एनभिडियाको सहयोगपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सरकारले कोषमा जम्मा भएको रकम बाढी प्रभावित क्षेत्रमा तत्काल राहत वितरणदेखि विस्थापितको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणसम्म प्रयोग गर्ने जनाएको छ ।

    विशेषगरी रसुवाको भोटेकोशी क्षेत्रमा जलविद्युत् आयोजना, सडक तथा पुललगायतका संरचनामा भएको क्षतिले पुनर्निर्माणलाई दीर्घकालीन चुनौती बनाएको छ । बाढीपछि करिब ९ सय जलविद्युत् आयोजना श्रमिक तथा कर्मचारी बेपत्ता रहेको अनुमानसहित सुरुङमा फसेकाहरूको खोजी तथा उद्धार जारी छ ।

    त्यसैले एनभिडियाको सहयोग तत्कालीन राहतमा मात्र नभई विपत्तिबाट प्रभावित समुदायलाई पुनः सामान्य अवस्थामा फर्काउने र ध्वस्त संरचना पुनर्निर्माण गर्ने अभियानका लागि महत्वपूर्ण स्रोतका रूपमा हेरिएको छ ।

    विनाशकारी बाढीले सिर्जना गरेको संकटबाट नेपाललाई बाहिर निकाल्न ठूलो मात्रामा आर्थिक स्रोत आवश्यक रहेका बेला हुआङको सहयोगले राहतपछि पुनर्निर्माणतर्फ केन्द्रित हुनुपर्ने आवश्यकतालाई थप उजागर गरेको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट