चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन राजधानीबाहिरै सिलिन्डर भरेर पठाउन थालिएको छ ।
ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौं प्रवेश गर्न नसकेपछि विभिन्न ग्यास उद्योगले अन्य उद्योगमार्फत सिलिन्डरमा ग्यास भरेर ट्रकबाट राजधानी पठाउन थालेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेसनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यास उद्योगमा भरेर काठमाडौं पठाउन थालिएको छ । बाबा ग्यासका सञ्चालक तथा नेपाल एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेतीका अनुसार मंगलबार चितवनस्थित बाबा ग्यासले श्री ग्यासका एक हजार ५०० सिलिन्डर भरेर पठाएको छ ।
कालाखेतीले भारतबाट नेपाल भित्रिने ग्यासको आपूर्तिमा कमी नआएको बताए । सडक अवरुद्ध भएका कारण बुलेटमार्फत ग्यास सम्बन्धित उद्योगसम्म पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा ग्यास भरेर ट्रकमार्फत काठमाडौं पठाइरहेको उनले जानकारी दिए ।
उनका अनुसार यसबाट काठमाडौंमा ग्यासको अभाव हुने अवस्था छैन । गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन एलपी ग्यास नेपाल भित्रिएको र यो हालसम्मकै उच्च परिमाण भएको उनले बताए । सोही अनुपातमा ग्यास आयात भइरहेकाले आपूर्तिमा समस्या नहुने उनको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले पनि सडक अवरोधका कारण राजधानीमा ग्यासको आपूर्ति प्रभावित हुन नदिन नेपाल आयल निगमले उद्योगीलाई राजधानीबाहिर ग्यास भर्न अनुमति दिएको जानकारी दिए ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया