काठमाडौं । भोटेकोसी बाढी गएको एक साता बितिसक्दा पनि हजारौँ मानिसको अवस्था अझै अज्ञात छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।
प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले मंगलबार पत्रकार सम्मेलन गर्दै विभिन्न निकाय र जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त विवरणअनुसार यति ठूलो संख्यामा मानिस अझै सम्पर्कमा आउन नसकेको जानकारी दिएका हुन्।
सम्पर्कविहीनको सूचीमा सर्वसाधारणसँगै सुरक्षाकर्मी, सरकारी कर्मचारी, जलविद्युत् आयोजनामा कार्यरत श्रमिक तथा विदेशी नागरिकसमेत छन्।
प्राधिकरणका अनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बल नेपालका १३ जना सम्पर्कविहीन छन्। त्यस्तै, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन र क्वारेन्टाइन कार्यालयका तीन जना पनि सम्पर्कमा छैनन्।
जिल्लागत विवरणअनुसार रसुवाबाट करिब ६५ जना र नुवाकोटबाट करिब १५५ जना सम्पर्कविहीन रहेको उप्रेतीले बताए। बाढीको ठूलो प्रभाव परेको जलविद्युत् क्षेत्रबाट मात्रै ६३९ जना सम्पर्कविहीन रहेको प्राधिकरणको विवरण छ।
बाढीपछि विदेशी नागरिकको अवस्थाबारे पनि ठूलो संख्या अझै स्पष्ट हुन सकेको छैन। प्राधिकरणका अनुसार ५८३ जना विदेशी नागरिक सम्पर्कविहीन छन्। उनीहरूसँगै घुम्न गएका १६४ जना नेपाली पनि सम्पर्कविहीन रहेको उप्रेतीले जानकारी दिए।
बाढी गएको सात दिनपछि सार्वजनिक भएको यो तथ्यांकले विपद्को मानवीय क्षतिको वास्तविक तस्वीर अझै पूर्ण रूपमा बाहिर आइनसकेको संकेत गरेको छ। विभिन्न निकायबाट प्राप्त विवरणलाई आधार बनाएर सम्पर्कविहीनको तथ्यांक संकलन भइरहेकाले आगामी दिनमा संख्या थपघट हुन सक्ने प्राधिकरणले जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया