काठमाडौं, भोटेकोसी बाढी तथा पछिल्लो बाढीपहिरोबाट उत्पन्न परिस्थितिका कारण बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बाढीपहिरोबाट प्रभावित क्षेत्रमा सरकारसँगै सांसदहरू पनि राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक सञ्चालन गर्न नसकिने उल्लेख छ।
प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख डोलप्रसाद अर्यालको निर्देशानुसार बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समयमा भोटेकोसी बाढी तथा बाढीपहिरोबाट उत्पन्न अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका थिए। बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले सरकारका तर्फबाट विपद्को अवस्थाबारे सदनलाई जानकारी गराएका थिए।
त्यसपछि सभामुख अर्यालले बिहीबार दिउँसो १ बजेका लागि अर्को बैठक तोकेका थिए। तर, विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारलाई प्राथमिकता दिनुपर्ने भन्दै उक्त बैठक स्थगित गरिएको हो।
अब प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्नेबारे संसद् सचिवालयले अर्को सूचना जारी गर्नेछ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया