logo

२०८३ श्रावण २ शनिबार

logo
  • २०८३ श्रावण २ शनिबार
  • सातौँ रात पनि इरानमाथि अमेरिकी हवाई आक्रमण, होर्मुज संकटले विश्व ऊर्जा बजार थप दबाबमा

    793Shares
    सातौँ रात पनि इरानमाथि अमेरिकी हवाई आक्रमण, होर्मुज संकटले विश्व ऊर्जा बजार थप दबाबमा

    काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव झन् गहिरिँदै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेपछि अमेरिकी सेनाले लगातार सातौँ रात पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ।

    अमेरिकी सैन्य सेन्ट्रल कमान्ड (सेन्टकम) ले राष्ट्रपतिको निर्देशनअनुसार इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले लक्षित हवाई कारबाही गरिएको जनाएको छ। ह्वाइट हाउसले आक्रमण पूर्ण रूपमा सैन्य पूर्वाधार र लजिस्टिक संरचनामा केन्द्रित रहेको दाबी गर्दै नागरिक संरचनालाई निशाना नबनाइएको स्पष्ट पारेको छ।

    तर, इरानी सञ्चारमाध्यमहरूले याज्द, केस टापु र बन्दर अब्बास आसपासका क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएका छन्। होर्मोज्गान प्रान्तका अधिकारीहरूका अनुसार आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ। इरानले अमेरिकी आक्रमणबाट पुल, रेल्वे स्टेसन र विमानस्थलजस्ता नागरिक पूर्वाधारमा समेत क्षति पुगेको आरोप लगाएको छ।

    यता, बीबीसी भेरिफाइ र बीबीसी पर्सियनले सार्वजनिक गरेका प्रमाणित दृश्यहरूमा इरानको गारिवे पुलमा आगलागी र संरचनागत क्षति देखिएको उल्लेख गरिएको छ। यद्यपि, वासिङ्टनले नागरिक पूर्वाधारमा आक्रमण गरिएको आरोप अस्वीकार गर्दै आएको छ।

    यसैबीच, इरानको रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले होर्मुज जलडमरूमध्य हुँदै गुज्रिरहेका दुई तेल ट्याङ्कर विस्फोटमा परेको दाबी गरेको छ। तर सेन्टकमले उक्त दाबीलाई निराधार र भ्रामक भन्दै खण्डन गरेको छ।

    दुवै पक्षबीच जारी प्रतिशोधात्मक कारबाहीका कारण विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा पारवहन मार्ग मानिने होर्मुज जलडमरूमध्यको आवागमन प्रभावित बनेको छ। विश्वको करिब २० प्रतिशत तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यसको असर अन्तर्राष्ट्रिय ऊर्जा बजारमा समेत देखिन थालेको छ।

    यसअघि इरानले कुवेत, बहराइन, जोर्डन र सिरियास्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको दाबी गरेको थियो। अमेरिकाले त्यो दाबी अस्वीकार गरे पनि कुवेती अधिकारीहरूले इरानी ड्रोन आक्रमणबाट केही सैनिक घाइते भएको तथा विद्युत् र पानी प्रशोधन पूर्वाधारमा क्षति पुगेको पुष्टि गरेका छन्।

    शान्ति वार्ता विफल भएको एक सातापछि पनि दुवै पक्षबीच सैन्य कारबाही रोकिएको छैन। कूटनीतिक पहल प्रभावहीन बन्दै जाँदा मध्यपूर्वमा युद्धको दायरा थप फैलिने चिन्ता अन्तर्राष्ट्रिय समुदायमा बढ्दै गएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट