logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा, हारसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त

    910Shares
    पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा, हारसँगै रोनाल्डोको विश्वकप यात्रा समाप्त

    काठमाडौं : विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा उपाधिविहीन रूपमा टुंगिएको छ। अन्तिम–१६ अन्तर्गत अमेरिकाको डलासमा सम्पन्न प्रतिस्पर्धामा पोर्चुगल स्पेनसँग १–० ले पराजित भएपछि रोनाल्डोको अन्तिम विश्वकप अभियान समाप्त भएको हो।

    निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो। इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले निर्णायक गोल गर्दै टोलीलाई क्वार्टरफाइनलमा पुर्‍याए। खेल समाप्तिपछि ४१ वर्षीय रोनाल्डो भावुक बनेका थिए।

    पाँच पटकका बालोन डी’ओर विजेता, पाँच पटकका यूईएफए च्याम्पियन्स लिग विजेता तथा युरो २०१६ का च्याम्पियन रोनाल्डोले क्लब र राष्ट्रिय टोलीका लागि हालसम्म विश्व कीर्तिमानी ९७६ गोल गरेका छन्। लगातार छ वटा विश्वकपमा गोल गर्ने दुर्लभ कीर्तिमान पनि उनको नाममा रहेको छ। तर, लामो अन्तर्राष्ट्रिय करियरमा विश्वकप उपाधि जित्ने उनको सपना भने पूरा हुन सकेन। सन् २००६ मा पोर्चुगललाई सेमिफाइनलसम्म पुर्‍याएको प्रदर्शन नै उनको विश्वकप यात्राको उत्कृष्ट उपलब्धिका रूपमा कायम रह्यो।

    विश्वकपअघि नै यो आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका रोनाल्डोले खेलपछि राष्ट्रिय टोलीबाट आफ्नो भविष्यबारे तत्काल कुनै निर्णय नगर्ने संकेत दिएका छन्। उनले परिवारसँग समय बिताएर शान्त ढंगले आगामी निर्णय लिने बताएका छन्।

    यस विश्वकपमा रोनाल्डोलाई प्रत्येक खेलमा पहिलो रोजाइमा उतार्ने निर्णय उचित थियो वा थिएन भन्ने विषयमा फुटबल वृत्तमा बहस जारी रहने देखिएको छ। बीबीसी रेडियो ५ लाइभका विश्लेषक तथा इंग्ल्यान्डका पूर्व स्ट्राइकर क्रिस सटनले पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजको रणनीतिको आलोचना गरेका छन्। उनका अनुसार रोनाल्डो मैदानमा अपेक्षाअनुसार प्रभावशाली देखिन सकेनन् र प्रशिक्षकले एक खेलाडीलाई अत्यधिक प्राथमिकता दिँदा त्यसको मूल्य टोलीले चुकाउनुपर्‍यो।

    यता, पराजयपछि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट अलग हुने घोषणा गरेका छन्। उनले रोनाल्डोको योगदानको प्रशंसा गर्दै विश्वकपभर टोलीका लागि उनले देखाएको समर्पण अनुकरणीय रहेको बताएका छन्। मार्टिनेजका अनुसार रोनाल्डो महान फुटबलर मात्र नभई उत्कृष्ट व्यक्तित्वसमेत हुन्। यससँगै विश्व फुटबलका सर्वकालीन महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप अध्याय भावुक अन्त्यमा पुगेको छ।

     



    फास्ट न्युज    
  • २०८३ असार २३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट