logo

२०८३ असार ११ बिहीबार

logo
  • २०८३ असार ११ बिहीबार
  • भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

    844Shares
    भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, राजधानी कराकासमा त्रास

    काठमाडौँ ।  भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (USGS) का अनुसार भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन गरिएको छ। भूकम्पको केन्द्र मोन्टाल्बान नजिक जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा रहेको बताइएको छ।

    कम गहिराइमा केन्द्रित भएकाले भूकम्पका धक्का राजधानी कराकाससहित देशका विभिन्न भागमा तीव्र रूपमा महसुस गरिएको थियो। छिमेकी कोलम्बियामा समेत कम्पन अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    भूकम्पपछि कराकासमा त्रासपूर्ण अवस्था सिर्जना भएको थियो। भवनहरू हल्लिन थालेपछि मानिसहरू घर तथा कार्यालयबाट बाहिर निस्किएका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार केही भवनका भित्तामा चिरा परेको छ भने प्रवेशद्वारमा जडान गरिएका सिसा फुटेका छन्।

    भूकम्प लगत्तै अमेरिकी सुनामी चेतावनी प्रणालीले पुएर्टो रिकोका लागि सुनामी जोखिमसम्बन्धी चेतावनी जारी गरेको छ। साथै केही टापु क्षेत्रहरूमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

    अधिकारीहरूले भेनेजुएलाको तटीय क्षेत्र नजिक रहेका अरुबा, कुरासाओ र बोनेयर टापुहरूमा समेत खतरनाक समुद्री छाल आउन सक्ने सम्भावना रहेको बताएका छन्। विपद् व्यवस्थापन तथा निगरानी निकायहरूले अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।

    हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। यद्यपि सरकारले ५ सयभन्दा बढी आपतकालीन उद्धारकर्ता परिचालन गरी घरमा फसेकाहरूको उद्धार कार्य जारी रहेको जनाएको छ।

    भूकम्पपछि लगातार परकम्पन आइरहेकाले सम्बन्धित निकायहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रभावित क्षेत्रको भौतिक क्षतिको विवरण संकलन तथा मूल्याङ्कन गर्ने काम जारी रहेको जनाइएको छ।



    फास्ट न्युज    
  • २०८३ असार ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट