काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले सबैभन्दा बढी डिजेल आयात गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि जेठ मसान्तसम्म एक खर्ब ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको १२ लाख ६४ हजार किलो लिटर डिजेल आयात भएको छ। विभागका अनुसार सो अवधिमा दोस्रो धेरै आयात हुने वस्तु भटमास तेलको कच्चा पदार्थ रहेको छ। ११ महिनामा एक खर्ब १९ अर्ब ६३ करोड रुपैयाँ बराबरको ७२ करोड ६४ लाख लिटर भटमास तेलको कच्चा पदार्थ आयात गरिएको छ। त्यसैगरी, पेट्रोल तेस्रो धेरै आयात हुने वस्तु बनेको छ।
समीक्षा अवधिमा ६८ अर्ब १७ करोड रुपैयाँ बराबरको ६ लाख ८५ हजार किलो लिटर पेट्रोल आयात भएको विभागले जनाएको छ। यस्तै, ५३ अर्ब ६९ करोड रुपैयाँ बराबरको एक अर्ब २२ करोड ८६ लाख केजी स्पन्ज आइरन आयात भएको छ भने ५२ अर्ब २१ करोड रुपैयाँ बराबरको ४७ करोड ५९ लाख केजी एलपीजी ग्यास आयात गरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ११ महिनामा कुल १८ खर्ब ९४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया